काठमाडौं, माघ २७: पटकपटक यौनहिंसा गरेको आरोप लागेर पक्राउ पुर्जी जारी भएपछि पूर्वडीएसपी राजकुमार खिउजू सम्पर्कविहीन भएका छन्।
ललितपुरको गिम्दी घर भएकी २२ वर्षीया युवतीलाई पटकपटक करणी गरेको अभियोगमा उजुरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २३ माघमा पक्राउ पुर्जी जारी गरेको थियो।
खिउजू अहिलेसम्म सम्पर्कमा नआएको परिसरका प्रवक्ता एसपी दुर्गा सिंहले बताउँदै विशेष संयन्त्रमार्फत खोजी कार्य भइरहेको जानकारी दिए।
महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी प्रमुख रहेका बेला पूर्वडीएसपी खिउजूले आफूमाथि पटकपटक यौनहिंसा गरेको ती युवतीको आरोप छ।
२०७६ साउनमा सरुवा भई मोरङ पुगेका खिउजूले चापागाउँ रहँदा पटकपटक यौनहिंसा गरेको आरोप लगाएर ती युवतीले उजुरी दिने थाहा पाएपछि गत पुसमै राजीनामा दिएका थिए।
समाचार अनुसार सुरक्षा गार्डको जागिर खान नजिकको प्रहरीबाट सिफारिस आवश्यक परेकाले ती युवती खिउजुको सम्पर्कमा पुगेकी बताएकी छिन्।
चापागाउँमा डेरा गरी बस्ने ती युवतीले सोही समय खिउजुले आफ्नै कार्यकक्षमा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छिन्।
त्यसयता आफ्नो डेरामा पुगेर र आफ्नो नग्न तस्वीर र भिडियो खिची धम्क्याउँदै पटकपटक यौनशोषण गरेको ती युवतीको दाबी छ।