काठमाडौं २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ ।
लामिछानेलाई प्रहरीले पक्राउ गरेर सडक मार्ग हुँदै पोखरा लैजाने भएको छ । लामिछानेले अबको आधा घन्टा पनि पार्टी कार्यालयबाट नेता कार्यकर्ता तथा शुभ चिन्तकलाई सम्बोधन गर्ने र त्यसपछि पोखरा जाने रास्वपाका सह प्रवक्ता मनिष झाले बताए ।
झाका अनुसार रविको साथका रास्वपाका केही नेताहरु पनि पोखरा जाने भएका छन् । लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली अहिले रास्वपाको पार्टी कार्यालयमा तैनाथ छ ।