न्यूरोड क्षेत्रका साना व्यवसायीहरू प्रदर्शनमा

रिपोर्ट नेपाल | 2020 Jun 10 | 02:05 pm 1570

काठमाडाैं, जेठ २८ः व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै  न्यूरोड क्षेत्रका साना व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन्।

लगातारको लकडाउनका कारण आफूहरु मर्कामा परेको र सरकारले कुनै विकल्प नदिएका कारण आफूहरु पसल खोल्न बाध्य भएको तर त्यसमा पनि प्रहरीले हस्तक्षेप गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका कार्यसमिति सदस्य सुनिल अग्रवालले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्ने र राहत प्याकेजको सुविधा पनि नदिएकाले आफूहरु सबैभन्दा बढी समस्यामा परेको बताए। उनले रहरले नभई करले सडकमा प्रदर्शन गर्न आउनु परेको बताए।

सबै प्रकारका व्यवासयहरु सञ्चालन गर्न पाउनु पर्ने र प्रहरी हस्तक्षेप रोकिनु पर्ने मागसहित देशभर प्रदर्शन जारी रहने उनले बताएका छन् ।

सरकारले ठूला व्यापारी र साना व्यापारीलाई भेदभाव गरेको गुनासो गर्दै उनीहरूले आफूहरूको घर भाडा मिनाहा गर्न, बैङ्क तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न मागसमेत गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले जेठ २१ गते वक्तव्य जारी गर्दै सबै प्रकारका पसलहरु बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि संचालनमा ल्याएको थियो।

व्यवसायीहरुले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गरी सामाजिक दूरी कायम गर्दै सुरक्षाका विधिहरु अपनाई पसल खोल्न दिनुपर्ने मागसहित दबाब दिँदै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.