न्याय खोज्दै मिटर ब्याजपीडित फेरि काठमाडौंतिर

रिपोर्ट नेपाल | 2024 Feb 08 | 07:53 am 141

धनुषा, माघ २५। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत धनुषाको वीरेन्द्रबजारबाट सयौंको संख्याको र्‍याली पश्चिमतर्फ अघि बढ्यो। ‘हाम्रो संघर्ष जारी छ। मिटरब्याज पीडितलाई न्याय दे,’ र्‍यालीमा नारा घन्कियो। माघ १६ गते काँकडभिट्टाको मेचीपुलबाट सुरु भएको पैदलयात्रा नवौं दिन बुधबार महोत्तरीको बर्दिवास पुगेको थियो।

‘मिटरब्याजविरुद्धको न्याय मार्च’ ब्यानरमा सुरु भएको र्‍याली न्याय माग्दै काठमाडौंका लागि अघि बढेको हो। सहभागीमध्येका एक थिए– महोत्तरीको औरही–१ की ५५ वर्षीया रामकली साह। मिटरब्याजीले भएभरको सम्पत्ति हड्पेपछि उनी अन्तिम विकल्पका लागि र्‍यालीमा सहभागी भएकी हुन्।

उनले ६ वर्षअघि गाउँकै छेवीलाल यादवसँग ५ लाख रुपैयाँ ऋण लिएकी थिइन्। गाउँको एक बिघा जग्गा छेवीलालको नाममा रजिस्ट्रेसन पास गरेर कर्जा लिइन्। जग्गा रजिस्ट्रेसनले मात्रै छेवीलाललाई पुगेन। उनले पास गराएकै जग्गामा बस्दै आएकी रामकलीसँग घरभाडाको कागजसमेत बनाए।

रामकलीले ऋण लिएको १ वर्षमा १ लाख ८० हजार रुपैयाँ साह (छेवीलाल) लाई बुझाइन्। जसको भर्पाइ छेवीलालले त्यतिबेलै गरिदिए। बाँकी पैसा पनि विस्तारै तिरेर सबै कर्जा चुक्ता गर्ने भनेर रामकलीले साहुसँग गुहार मागिन्। तर, छेवीलालले मानेनन्। पैसाका लागि बारम्बार ताकेता गर्न थाले। रामकली पैसाकै जोहोमा जुटिन। त्यहीबेला छेवीलालले रामकलीसँग पास गराएको जग्गाका सबै रूख बेचिदिए। चार सयभन्दा बढी सपेता र आँपका रूखको मूल्य थियो– ‘१० लाख रुपैयाँ।’ जुन कुरा साहु छेवीलाल स्वयंले स्विकारेका थिए।

रामकली भन्छिन्– ‘रूख नबेच्नुस्, महाजन ! म पैसा तिर्छु भनेको थिएँ। साहुले पैसाको खाँचो छ। सबै रूखको १० लाख भयो भनेर काट्यो। तर, पनि मेरो कर्जा चुक्ता भएन। ‘महाजन’ले उनीसँग अझै १ करोड २० लाख रुपैयाँ मागिरहेका छन्।’

रामकलीलाई घर छाड्न छेवीलालले दबाब दिइरहेका छन्। आफ्नो जग्गा फिर्ता गरिदिन आग्रह गर्दा उल्टै साहुले रामकलीमाथि कुटपिट गरेका थिए। कुटाइबाट उनको औंलाको हड्डी भाँचिएको थियो। ‘‍औंरीके हड्डी दोइर देलकै हौ बाबु (औंलाको हड्डी भाँचिदियो)। सारा सम्पत्ति लुटेर महाजनले हामीलाई घरवारविहीन बनाइदियो,’ छाती पिट्दै रामकलीले भनिन्– ‘बाँकी भनेको ज्यान छ। ज्यानलाई बाजी लगाएर सरकार गुहार गर्न काठमाडौं हिँडेको हौं।’

रामकलीले ८ महिना जेल पनि भोग्नुपर्‍यो। छोरीको विवाहका लागि गाउँकै अजय यादवसँग ४० हजार ऋण लिएकी थिइन्। साहुको मागअनुसार तत्कालै ४५ हजार रुपैयाँ फर्काइदिइन्। तर, अजयले रामकलीको कपाली तमसुक फिर्ता गरेनन्। कर्जा चुक्ता गरिसकेपछि रामकलीले पनि तमसुकको वास्तै गरिनन्। तर, त्यही पैसा बुझिसकेको तमसुक साहु अजयले अदालत लगे र मुद्दा हाले। न्यायाधीशले रामकलीलाई दुई वर्ष जेलको सजाय सुनाए। अघिल्लो वर्ष मंसिरको कठ्यांग्रिँदो जाडोमा रामकलीले जेल जानुपर्‍यो। ८ महिनापछि गत असारमा साहु अजयलाई १ लाख ५० हजार रुपैयाँ तिरेर जेलमुक्त भइन्। ‘अजय त्यतिकैमा रोकिएका छैनन्। गाउँमा आएपछि कानुनको धाक लगाउन छोडेका छैनन्,’ रामकली भन्छिन्, ‘सबैलाई कागज देखाएर पुनः जेलमा कोच्छु भनेर हिँडेका छन्। हामीसँग न घरजग्गा छ न त पैसा। सरकारले न्याय देओस् हैन भने ज्यान लेओस्।’

सिरहा नगरपालिका–१६ माडरका ६९ वर्षीय मोहम्मद गफुर मलङको पैतालामा फोका उठिसकेका छन्। ९ दिनको हिँडाइले गफुरको वृद्ध शरीर पनि थाकिसकेको छ। तर, पनि खुट्टाका औंलामा कपडा बेरेर अभियानमा छन्। न्यायको आसमा हिम्मत नहारेको उनी बताउँछन्।

गफुरसँग झन्डै दुई कठ्ठा जमिन थियो। तर, मिटरब्याजी साहुका कारण धनी गफुर सुकुम्बासी बनेका छन्। त्यतिबेला उनको जग्गाको मूल्य ३० लाख मूल्यांकन भएको थियो। अढाई वर्षअघि सिरहा नगरपालिका–१३ का वडाध्यक्ष सचिन साहसँग ७ लाख रुपैयाँ ऋण लिएका थिए। १ कठ्ठा घडेरी पास गरिदिएपछि मात्रै वडाध्यक्ष सचिनले गफुरलाई ऋण दिएका थिए। ऋण लिएको ६ महिनापछि गफुरले सचिनलाई १ लाख १० हजार फिर्ता गरिदिए। बाँकी पैसा तिर्ने उपाय उनीसँग थिएन।

गफुर भन्छन् ‘हिसाब बराबरको जग्गा राखेर बाँकी जग्गा फिर्ता गरिदिन महाजनलाई अनुरोध गरेँ। उहाँ (वडाध्यक्ष)ले मान्नु भएन। जग्गा पनि फिर्ता गर्नु भएन। उल्टै ९ लाखको तमसुक दर्ता गरिदिन दबाब दिइरहेका छन्।’

गफुर लघुवित्त पीडित पनि हुन्। उनले ८ महिनाअघि १८ धुर जग्गा धित्तो राखेर स्वावलम्बन लघुवित्त वित्तीय संस्थाबाट ७ लाख रुपैयाँ ऋण झिकेका थिए। किस्तामा सबै ऋण चुक्ता गरिसके। तर, एक महिना भइसक्यो, त्यति जग्गा पनि फिर्ता पाएका छैनन्। ‘बचतमा मेरो डेढ लाख रुपैया पनि जम्मा छ,’ गफुरले भने, ‘जग्गा फुकुवा गर्न लघुवित्तले मानेको छैन। बचत फिर्ता गर्न पनि आलटाल गरिरहेका छन्।’ यसपटक न्याय नपाएसम्म घर नफर्किने गफुर बताउँछन्। ‘पीडा सुनाउन काठमाडौं जाँदैछौं। यसपालि न्याय पाउने पूर्ण आस छ। नपाए सरकारको शरणमा ज्यान दिन्छौं। रित्तै घर फर्किंदैनौं,’ गहभरी आँसु भर्दै गफुरले भने।

रामकली र गफुरमात्रै हैनन्। सयभन्दा बढीको संख्यामा मिटरब्याज तथा लघुवित्त पीडितले काठमाडौंका लागि पैदलयात्रा अघि बढाइसकेका छन्। यात्रामा सहभागीहरूका पीडा कोहीभन्दा कसैका कम छैनन्। झापादेखि सर्लाहीसम्मका पीडितहरू सहभागी रहेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर–संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले जानकारी दिए। उनका अनुसार जिल्ला जिल्लाबाट पीडितहरू सहभागी हुने क्रम बढिरहेको छ। मिटरब्याजविरुद्ध न्याय मार्चमा सहभागी पीडितहरूको एउटै बोली छ– ‘कि अब न्याय लिएर फर्किन्छौं, हैन भने ज्यान दिएर।’

समितिले सरकार समक्ष ६ बुँदे माग राखेर माघ १६ गतेबाट न्याय मार्च सुरु गरेको हो। गत माघ १६ गते काँकडभिट्टाको मेचीपुलबाट सुरु भएको पैदलयात्रा नवौं दिन बुधबार महोत्तरीको बर्दिबास पुगेको छ। समितिले मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू (तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन र चेक) अवैध घोषणा गर्नुपर्ने र जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। यस्तै, विभिन्न तहका अदालतमा मिटरब्याजी साहुले पीडितमाथि हाल्ने मुद्दाको दर्ता र सम्पूर्ण अदालती प्रक्रिया स्थगित गर्नुपर्ने, तथा फैसला भइसकेका मुद्दाहरू आयोगमा पेस गर्न लगाएर पुनरावलोकन गरी फर्जी लिखत (चेक बाउन्स) समेतका आधारमा सजाय कटाइरहेका पीडितको रिहाइ, जरिबाना मिनाहा र बिगो खारेज गर्नुपर्ने माग छन्।

यस्तै, मिटरब्याजसँग सम्बन्धित निवेदनका सरकारी तथ्यांक अपूर्ण भएकाले तत्काल नयाँ निवेदन दर्ता खुला गरी पीडितहरूको अभिलेखीकरण गर्दै सोका आधारमा साहु, महाजनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, साहु, महाजनले आफूविरुद्धको उजुरी लिने निषेधाज्ञा रद्द गर्नुपर्ने र वास्तविक लेनदेन यकिन गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन आकर्षित गराई ऋण लगानी गरेको रकमको स्रोत छानबिन गर्नुपर्ने माग उनीहरूको छ।

त्यस्तै, मिटरब्याज साहु, महाजनद्वारा गराइएका आत्महत्या दुरुत्साहन, दुव्र्यवहार, महिलामाथि हुने ज्यादती तथा यौन हिंसा र मानवअधिकार उल्लंघनका अन्य घटनाको गम्भीर छानबिन गरी कानुनी कारबाही गरी पीडित र मृतकका परिवारलाई न्यायोचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, पीडितले गैरकानुनी ब्याजदरमा ऋण लिनुपर्ने कारणको पहिचान गर्दै शोषित उत्पीडित वर्ग लक्षित न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चितता गर्न बिनाधितो सहुलियत ऋण प्रवाहको कार्यक्रम ल्याउनुपर्ने माग पनि सरकार समक्ष राखेको समितिका केन्द्रीय अध्यक्ष कुशवाहाले बताए।

सरकारले पीडितलाई झुक्याएर मिटरब्याजीको पक्षमा अध्यादेश ल्याएको पनि आरोप लगाए। यात्राको नवौं दिनमा धनुषा आइपुगेका कुशवाहाले भने ‘मेची र महाकालीबाट एकैसाथ मिटरब्याजविरुद्ध न्याय मार्च सुरु भएको छ।’

(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.