न्यायपालिकाको गहन जिम्मेवारी मर्यादापूर्वक निर्वाह गर्छुः प्रधानन्यायाधीश जबरा

रिपोर्ट नेपाल | 2021 Jan 30 | 08:40 am 2233

काठमाडाैं, माघ १७ः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक परीक्षण गरिरहेको सर्वाेच्च अदालतले न्यायपालिकाको गहन जिम्मेवारी मर्यादापूर्वक निर्वाह गर्ने स्पष्ट पारेका छन् ।

प्रधानन्यायाधीश जबराले सर्वाेच्च अदालत बार एसोसिएसनका नवनिर्वाचित पदाधिकारीसँग शुक्रबार भएको भेटमा यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । जबरालाई उद्धृत गर्दै एसोसिएसनका एक पदाधिकारीले भने, ‘संविधानले दिएको उच्च भूमिका हामी मर्यादापूर्वक निर्वाह गर्नेछौं ।’

सर्वाेच्च अदालत बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्यले मुलुककै भाग्य र भविष्यको निर्णय गर्ने जिम्मा सर्वाेच्च अदालतमा आएको औंल्याएको सन्दर्भमा जबराले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।

न्यायपालिकाको स्वतन्त्रतामा विभिन्न ढंगले हस्तक्षेप भएको उल्लेख गर्दै जबराले स्वतन्त्रता रक्षाका लागि नेपाल बार एसोसिएसन र सर्वाेच्च अदालत बार एसोसियसनलाई अग्रणी भूमिका निर्वाह गरिदिन पनि आग्रह गरे । ‘विभिन्न तवरले न्यायालयमाथि प्रहार भइरहेको छ तर हामी फोरम बनाएर प्रतिवाद गर्न त सक्दैनौं’, जबरालाई उद्धृत गर्दै एसोसियसनका ती पदाधिकारीले भने, ‘यसका लागि बारले नै अग्रणी भूमिका खेलिदिनुपर्छ । न्यायालय आफैं पनि जनआस्था गिर्न नदिन सचेत छ ।’ न्यायालयप्रति वर्तमान अवस्थामा धेरै जनगुनासो आएकातर्फ पनि आफूहरूको पर्याप्त ध्यान गएको उनले स्पष्ट पारे । जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलासमा विचाराधीन मुद्दामा सार्वजनिक भइरहेका विभिन्न दृष्टिकोण टीकाटिप्पणीतर्फ सांकेतिक रुपमा असन्तुष्टि जनाए ।

एसोसियसनका ती पदाधिकारीका अनुसार छलफलका क्रममा प्रधानन्यायाधीश जबराले न्यायाधीश नियुक्ति, कारबाहीलगायत विषयमा समेत स्पष्ट दृष्टिकोण सार्वजनिक गरेका थिए । भ्रष्टाचारमा कारबाहीलगायतका विषयमा समेत विभिन्न दृष्टिकोण आइरहेको र स्वयं न्यायाधीशहरूले पनि विरोध गरेको उल्लेख गर्दै उनले आफूलाई काम गर्न अप्ठेरो भएको औंल्याए । न्यायाधीशहरूले नै आफूहरूलाई हतोत्साहित गरेको जबराको स्पष्टोक्ति थियो । नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.