नौ वाणिज्य बैङ्कलाई कारबाही

| 2023 Feb 09 | 07:35 am 1173

काठमाडौँ, माघ २६ः नेपाल राष्ट्र बैङ्कले नौ वाणिज्य बैङ्कलाई नगद जरिवाना तथा सचेत गराएर कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरणलगायत वित्तीय नियामकीय प्रावधान कार्यान्वयनमा अटेरी गरेपछि राष्ट्र बैङ्कले ती वाणिज्य बैङ्कका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई जरिवाना र सचेत गराएको हो ।

राष्ट्र बैङ्कले बुधबार सूचना जारी गर्दै चार वाणिज्य बैङ्कलाई नगद जरिवाना र अन्यलाई सचेत गराएको हो । बैङ्कले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन, राष्ट्र बैङ्कको एकीकृत निर्देशन बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐनका विभिन्न प्रावधानदेखि कर्जा सूचना तथा कालोसूचीसम्बन्धी विभिन्न प्रावधान उल्लङ्घन गरेको पाइएकाले यस्तो कारबाही गरिएको राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था सुपरिवेक्षण विभागले जनाएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको पालना नगरेको कसुरमा प्रभु, कुमारी, साबिक बैङ्क अफ काठमाण्डू र प्राइम कमर्सियल बैङ्क ५०/५० लाख रुपियाँ जरिवानामा परेका छन् । प्रभु बैङ्कलाई कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्था पालना नगरेको कसुरमा पनि सचेत गराइएको छ ।

केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई जोखिम भारित सम्पत्ति गणना नगरेका कारण पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेस नगरेको अभियोगमा कारबाहीस्वरूप सचेत गराएको छ । सो बैङ्कलाई ऋण प्रवाहपश्चात् एकीकृत निर्देशनको प्रावधानविपरीत हुने गरी प्रिमियममा चलखेल गरेकामा पनि सचेत गराइएको छ ।

प्रिमियममा निर्देशनविपरीत चलखेल गरेको पाइएपछि साबिकको नेपाल इन्भेस्टमेन्ट बैङ्क (हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क) र सिभिल बैङ्क पनि कारबाहीमा परेका छन् ।

बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशनअनुसार एक पटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी ऋण उपलब्ध गराएपश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः बढाउन पाइँदैन तर राष्ट्र बैङ्कले गरेको अध्ययनका क्रममा ती बैङ्कले यस्तो प्रावधान उल्लङ्घन गरेको देखिएपछि यी बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

त्यस्तै सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को प्रावधानविपरीत थप सुविधा दिएको भन्दै कारबाही गरिएको छ ।

नबिल बैङ्कलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थाअनुसार ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नगरेको भन्दै सचेत गराइएको केन्द्रीय बैङ्कले जनाएको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.