नेविसंघमा बुढाहरु भन्नेले भोली, पार्टीमा केटाकेटी नभन्नु !

| 2018 Oct 12 | 03:35 pm 10282

काडमाडौं, असोज २६ नेविसंघको १२ औं महाधिवेशनमा अध्यक्षको चर्चामा आएका विद्यार्थी राजनीतिका एक अनुभवी पूर्व स्ववियु सभापति हुँदै नेविसंघ केन्द्रीय समितिमा प्रभावकारी भूमिका निर्वाह गरेका मोतिलाल भण्डारी नेविसंघ मात्र नभएर सिंगो नेपाली कांग्रेस सुधार गर्ने अभियानको दृढ संकल्प बोकेका एक हस्ती हुन् ।

पछिल्लो समय नेविसंघको उमेरहदलाई लिएर कांग्रेसमा धेरै विवाद भयो । ३२ वर्षे उमेरहद लगाउने वा नलगाउने भन्नेमा नेताहरूबीच मत बाझिएको थियो । विद्यार्थी नेताहरुले ३२ वर्षे उमेर हद हटाउन माग गर्दै आएका थिए तर उमेरहद भने कायमै रहेको छ ।

नेविसंघ १२ औं महाधिवेशनका अध्यक्ष दावेदार भण्डारीका धारणा के ?

नेपाली कांग्रेस केन्द्रीय समितिले बहुमतको आधारमा नेविसंघमा ३२ बर्ष उमेरहद निर्णय गरेको छ । यो आफैंमा विवादित र अलोकतान्त्रिक छ । नेविसंघको विधान पार्टीले बनाउने होइन, नेविसंघका केन्द्रीय समितिले बनाएको विधान पारित गरी दिनुपर्ने हो । त्यसो नगरेर विधानमाथि ठाडो हस्तक्षेप गरेको छ, लोकतान्त्रिक प्रकृयामाथि नाङ्गो प्रहार गरेको छ ।

यो गलत निर्णयका विरुद्ध हामीहरु पाटीमा लोकतान्त्रिक पद्धति स्थापित गर्नको लागि संघर्ष गर्छौ । ७० बर्ष उमेर काटेकालाई सक्रिय राजनीतिबाट विदा लिने बाध्य पर्छाैं । नेविसंघमा २०६० / २०६२ आन्दोलनको पुस्ताका यूवाहरुमाथि वर्तमान कांग्रेस नेतृत्व क्रुर रुपमा प्रस्तुत भएको छ । यो आफैंमा दुःखद् छ ।

नेविसंघमा १० र १२ वर्ष महाधिवेशन नगर्ने, अनि तिमीहरु बुढा भयो भनेर उमेर लगाउने ? हामी नेविसंघमा बुढा भएका होइनौ, पार्टीले हामीलाई बुढाे बनाएको हो । प्रत्येक दुई दुई वर्षमा महाधिवेशन गरेको भए हामी उहिल्यै नेविसंघमा विदा भइसकेका हुने थियौं । २६/२७ वर्ष उमेरको विद्यार्थी नेता अध्यक्ष भई सकेका हुन्थ्यो ।

फेरि हामी उमेरका विरोधी पनि होइनौं उमेर लगाउ तर नेविसंघमा मात्र किन ? पार्टी भित्र पनि लगाउ र पार्टीका अन्य भातृ संगठनमा पनि लगाउ भन्ने हो । पार्टी मनपरी ढंगबाट संचालन गरेको छ । विधानमा पनि लगाउ भन्ने हो ।  विधान सम्बत पार्टी संचालन भएको छैन ।

पार्टीमा विधि ,विधान र पद्धतिका कुरा उठाउँदा हामीमाथि उमेर लगाउने ? दुई तिहाइको कम्युनिष्टसँग लड्न बलियो पुस्ता चाहिन्छ त्यसकाे लागि संगठन र पार्टी बुझेका पुस्ताहरु नेविसंघमा चाहिन्छ भनेका हौं ।

वर्तमान समयमा नेपाली कांग्रेसले शसक्त प्रतिपक्षको भूमिका निर्वाहा गर्न सकेको छैन । सरकारका विसंगति र विकृतिका लागि बलियो कांग्रेसमा शसक्त नेविसंघ चाहिन्छ भनेका हौं । सधै नेविसंघमा बस्ने भनेको होइन ।

उमेरकै कारण लामो समय स्ववियु निर्वाचन भएन, क्याम्पसहरुमा पसिना बगाएका दुःख गरेका यूवा पुस्ता नियमित स्ववियु चुनाव र महाधिवेशन नहुँदा सबैको ३२ वर्ष काटेको छ । तिनिहरुको लागि पार्टीले न्याय गर्नु पर्दैन ? उमेरको कुरा गर्दा फेरी हामीले संगठन बुझेका पुस्ताले संगठन संचालन गर्नु पर्छ भन्ने हो ।

लामो समय भयो स्ववियु चुनाव नभएको चुनाव नहुँदा संगठन बुझेका भाई बहिनीहरु अझ कालिला छैनन् कि भन्ने हो । हामीलाई उमेरको आपत्ति होइन, संगठन बुझेको पुस्ता चाहिन्छ भन्ने हो । अब नेविसंघमा हामीलाई बुढो देख्नेहरुले भोली पार्टीमा केटा भए नभन्नु ! पार्टी संचालनमा भएका विकृतिहरुलाई जनस्तरबाटै उदाङ्गो पर्ने कार्यमा लाग्छौं ।

देशमा दुई तिहाइको कम्युष्टिहरुको दम्भबाट मुक्त गरी कांग्रेस बलियो बनाउन चाहान्छौं । देश बलियो बनाउन चाहान्छौं । पार्टी भित्र, बाहिर लोकतान्त्रिक मूल्य, मान्यता स्थापित गर्न जोडदार ढंगबाट संघर्ष गरिरहने छौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.