नेविसंघमा उमेर हदको विवाद कायमै

रिपोर्ट नेपाल | 2018 Sep 10 | 06:24 am 1090

काठमाडौं, भदौ २५: नेपाल विद्यार्थी संघको बैठकमा उमेर हद कति हुने भन्नेबारेमा विवाद देखिएको छ।

नेविसंघको निर्वाचन कार्यतालिका, विधान र नियमावलीबारे छलफल गर्न शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उमेर हदका बारेमा विवाद देखिएको हो।

निर्वाचन आगामी असोज १६ देखि १८ गते सम्पन्न गर्ने कुरामा कुरा मिले पनि कुन उमेर समूहका व्यक्ति निर्वाचन लड्ने भन्नेबारेमा विवाद देखिएको नेवि सङ्घका सहमहामन्त्री एवं प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभयो । नेवि सङ्घको ११औँ महाधिवेशनमा १२औँ महाधिवेशनमा अध्यक्ष लड्नका लागि ३२ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको थियो।

अध्यक्ष नैनसिंह महरले बैठकमा राखेका कुरालाई बृहत् छलफल गर्नका लागि बैठक आज बिहान ८ बजेसम्म स्थगित भएको नेवि सङ्घ केन्द्रीय सदस्य सुनिता पोखरेलले जानकारी दिए।

आइतबार १०५औँ बिपी जयन्ती मनाउनका लागि छलफल गर्ने भनिएको बुँदामाथि छलफल हुन नसकेकाले भोलिसम्मका लागि बैठक स्थगित गरिएको पोखरेलले बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.