काठमाडौं, १० चैत / रुसको राजधानी मस्कोमा भएको साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलाको नेपाल सरकारले निन्दा गरेको छ । शनिवार एक विज्ञप्तिमार्फत घटनाप्रति खेद व्यक्त गर्दै रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति परराष्ट्र मन्त्रालयले समवेदना प्रकट गरेको छ ।
‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भर्त्सना गर्दछ, आतङ्कवाद जहाँ र जैलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ विज्ञप्तिमा भनिएको छ ।’
मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने नेपाल सरकारले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । सो हमलामा अहिलेसम्म ६० जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको रुसी समाचार संस्थाहरुले जनाएका छन् ।