काठमाडाैं, असार १३ः राष्ट्रिय सतर्कता केन्द्रले नेपाल वायुसेवा निगममा चरम आर्थिक हिनामिना र निगमका अपरेशन डाइरेक्टर दिपुराज जुहारचनको नियुक्ति गैरकानुनी रहेको ठहर्याएको छ। केन्द्रले यही असार २ गते राष्ट्रिय सतर्कता केन्द्रका सचिवलाई प्रतिवेदन निगमलाई पेस गर्दै जुहारचनको गैरकाुननी नियुक्तिलाई प्रमाणित गर्ने पदाधिकारीलाई समेत कानुनबमोजिम कारबाही गर्न नागरिक उड्यन प्राधिकरण र निगमलाई प्रतिवेदनमा सुझाव दिएको छ। सतर्कता केन्द्रको तर्फबाट प्रउ राजेन्द्रकुमार पोखरेल, प्रनाउ बुद्धिराम खनाल र शाखा अधिकृत भावना पुडासैनीसहितको टोलीले २०७७ कात्तिक २३ को सतर्कता केन्द्रको पत्रादेशअनुसार वायुसेवामा छानबिन गरी प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनअनुसार, जुहारचन निगममा २०६४ असोज २८ गते नियम मिचेर को पाइलटमा नियुक्त भएका हुन्। निगमको विनियम २०५८ को दफा ३३ अनुसार उनको नियुक्ति ०७६ असोज ३१ मा अपरेसन विभाग निर्देशक पदमा गैरकानुनी ढंगले नियुक्ति भएको हो। सो पदका दाबेदार उनीभन्दा वरिष्ठ १८ जना पाइलट थिए। जेष्ठताको हिसाबले १९ औं नम्बरमा पर्ने जुहारचन नियमविपरीत नियुक्ति गरिएको सतर्कता केन्द्रको ठहर छ। निगमको अपरेशन म्यानुअलको दफा १.३.१ मा अपरेशन डाइरेक्टर बन्न २० वर्ष काम गरेको र निगम तथा नागरिक उड्डयन प्राधिकरणले कुनै कारबाही नगरेको हुनुपर्छ।
तर, प्राधिकरणले मिति २०७३ फागुन ३ गते नियमविपरीत कार्य गरेको पाएपछि उनलाई ५ हजार जरिबाना गराएको थियो भने जुहारचनले निगमका काम गरेको १२ वर्ष मात्रै पुगेको छ। त्यस्तै, जुहारचन अपरेसन डाइरेक्टरमा नियुक्ति भएपछि २०७६ भदौ ११ मा नियुक्ति सम्बन्धि प्रावधान परिवर्तन गरेका छन्। प्रावधान परिर्वतन गर्दा अपनाउनुपर्ने व्यवस्था पनि उल्ल्घंन गरेको प्रमाणित भएपछि सतर्कता केन्द्रले उक्त प्रावधान परिवर्तन पनि गैरकानुनी रहेको औल्याएको छ।
केन्द्रको अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘पुरानो अपरेसन म्यानुअल संशोधन गर्दा कमिटी नै नबनाएको र राय सुझाव नसमेटिएको र उनको योग्यतासँग मिल्नेगरी संशोधन गरिएको विषय र उक्त संशोधनको आधारमा अपरेसन प्रमुखको नियुक्तिसमेत गैरकानुनी देखिन्छ।’ त्यस्तै, निगमको उप–विनियम ३ मा उपविनियम १ बमोजिम कायम मुकरर गर्दा सम्बन्धित सेवा समूह वा उपसमूहको पदमा कार्यरत कर्मचारीमध्ये जेष्ठता, योग्यता तथा कार्य क्षमताको आधारमा कायम मुकरर गरिने पद भन्दा एक तह मुनीका कर्मचारीलाई गर्नुपर्ने उल्लेख छ।
प्रतिवेदन अनुसार अन्तर्वार्ता नै नलिई जुहारचनलाई अपरेसन विभाग प्रमुखको नियुक्ति दिइएको थियो। २०७६ असार ३१ मा उनको नियुक्ति भए पनि नागरिक उडड्यन प्राधिकरणले २०७६ साउन १२ गते मात्रै अन्तर्वार्ता लिएको थियो। प्राधिकरणको मिति २०७६ भदौ १८ को पत्र अनुसार जुहारचनको नियुक्ति २०७६ साउन ७ गतेदेखि लागु भएको व्यवहोरा प्राधिकरणले प्रमाणित गरेको थियो। अन्तर्वार्ता नै नलिई नियुक्ति गरिएकोप्रति केन्द्रले प्राधिकरणको समेत गल्ती औंल्याएको छ।
कारबाहीमा परेका र अपरेशन विभाग प्रमुख पदको लागि अयोग्य ठानिएका व्यक्तिको नियुक्ति अवैधानिक भएकोले उनलाई नियुक्ति गर्ने पदाधिकारी र निगमका कर्मचारीलाई समेत कारबाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, जुहारचनलाई नियुक्ति गर्दा निगमको सेवा सर्तसम्बन्धी विनियमावली २०५८ नै संशोधन गरिएका थियो। कुनै व्यक्तिको लागि मिल्ने प्रावधान राखी नियम विपरीत कार्यविधि नपुर्याई कार्यविधि संशोधन गरी नियुक्ति गर्ने पदाधिकारी, संशोधन प्रमाणित गर्ने निगम, प्राधिकरणका पदाधिकारीलाई समेत कानुन बमोजिम कारबाही गर्न र नियम विपरीत बढुवा भई लिएको रकमसमेत सम्बन्धित पदाधिकारीबाट असुल गर्न केन्द्रले प्राधिकरण र निगमलाई निर्देशन दिएको छ। २० वर्ष पुगेका र सो पदको लागि योग्य रहेका अन्य सिनियर पाइलटलाई बेवास्ता गर्दै जुहारचनलाई निगमको अपरेसन डाइरेक्टरको नियुक्ति दिइएको पनि सतर्कता केन्द्र गैर कानुनी ठहर गरेको छ। नागरिक दैनिकबाट