नेपाल र म्यानमारबीचकाे व्यापार सम्बन्धलाई प्रवर्धन गर्नुपर्ने आङ सान सुकीकाे भनार्इ

| 2018 Nov 29 | 07:02 pm 1798

काठमाडौं, मंसिर १३ : म्यानमारकी  चर्चित प्रजातन्त्रवादी नेतृ आङ सान सुकीले नेपाल र म्यानमारबीच व्यापार सम्बन्धलाई प्रवर्धन गर्नुपर्ने बताएकी छन् ।नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उनले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताइन् ।

नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मामा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गरिन् ।

अर्काे प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफूले नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने बताइन् । खासमा उनी काठमाडौंमा मंसिर १४ देखि १७ सम्म चल्ने एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएकी हुन् ।

सुकी उनको देशमा प्रधानमन्त्री सरहको स्टेट काउन्सिलरको भूमिकामा रहेकी छिन् । सन् १९९१ को नोवेल शान्ति पुरस्कार बिजेता सुकीलाई प्रजातन्त्रवादी नेतृका रुपमा विश्वले चिन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.