नेपाल र चीनबीच के-के सम्झौता भए ?

| 2018 Jun 20 | 04:38 pm 3239

बेइजिङ, असार ६ :  चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा बुधबार नेपाल र चीनबीच विभिन्न ८ सम्झौता भएका छन्। बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा दुवै देशका सरकारी र निजी क्षेत्रका संस्थासँग विभिन्न सम्झौता पत्रमा हस्ताक्षर भएको हाे।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताए। संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताए।

सम्झौतापत्रमा हस्ताक्षर हुनुले दुई देशको मित्रता, समझदारी र सहकार्य अगाडि बढाउन योगदान गर्ने तथा यसले नेपालको आर्थिक उन्नति र दुवै देशका जनताको हित हुनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो।

नेपाल र चीनबीच के के सम्झौता भए?

फलफुल उद्योग स्थापनाको समझदारी : फलफुल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षर गरेका हुन् ।

कालीगण्डकी गर्ज जलविद्युत् निर्माण सम्झौता : नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीका प्रतिनिधि झु जीनसिबीच बुधबार बेइजिङमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्  ।

पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर : नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच २ लाखदेखि ५ लाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर  गरेका छन् ।

मर्स्याङ्दी जलविद्युत् निर्माण सम्झौता : बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीबीच मर्स्याङ्दी क्यास्केड जलविद्युत् परियोजना निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

त्रिशूली गल्छी परियोजना निर्माण सम्झौता : त्रिशूली गल्छी परियोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङ्फाङ इलेक्ट्रिक इन्टरनेशनल कम्पनीका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर  गरेका छन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.