नेपाल–भारत सीमामा पर्खाल किन नलगाउने ?

रिपोर्ट नेपाल | 2020 May 05 | 02:35 pm 2358

  • महेन्द्र पाण्डेय

नेपाल–भारत खुला सीमा यतिबेला अभिसाप बनेको छ । कोरोना भाइरसको संक्रमण नेपाल प्रवेश गर्नुमा मुख्य भूमिका खुला सीमाकै देखिएको छ । सुरुवातका ५ जना बाहेक अहिले सम्म जति पनि संक्रमित छन् , सबैको स्रोत भारत नै देखिएको छ । विगत करिव दुई महिना देखि नेपाल– भारत दुवै देशमा लकडाउन गरिएको छ । यसका बाबजुद भारतमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । जसको बाछिटा नेपालमा पनि परेको छ । पुरै लकडाउनका बाबजुद भारतबाट कोरोना संक्रमितहरु नेपाल छिरिरहेका छन् । नेपालमा रहेका संक्रमित मध्ये करिव २५ प्रतिशत त भारतीय नागरिकहरु नै छन् । जसमध्ये केही संक्रमितहरु लकडाउन पछि नेपाल छिरेको पुष्टि भइसकेको छ ।

खुला सीमानाबाट आवत जावत हुन नदिन दुवै देशका सुरक्षाकर्मीहरुले कडा पहरा दिइरहेको समाचार आएका छन् । नेपालका तर्फबाट हरेक एक–एक किलोमिटरमा अस्थायी सुरक्षा पोष्ट स्थापना गरेर प्रहरीहरुले आवागमनलाई कडाई गरेका छन् । यसैगरी भारतका तर्फबाट पनि यसरी नै सीमा क्षेत्रका कडाई गरिएका समाचार आएका छन् । यसका बाबजुद लुकिछिपी नेपाल आउने क्रम रोकिएको छैन । यस क्रममा संक्रमितहरु समेत नेपाल प्रवेश गरेका कारण समस्या निकै जटिल बन्दै गएको छ । भारतमा कोरोना संक्रमणको बढ्दो गति यथावत रहेसम्म नियन्त्रणका लागि नेपालमा चालिने हरेक कदम निरर्थक सावित हुने लक्षणहरु देखिइरहेका छन् । यो गम्भीर परिस्थिति प्रति नेपाल सरकार सचेत हुनु जरुरी छ ।

सदियौं देखि नै नेपाल– भारतबीच खुला सिमाना छ । यताका नागरिक उता र उताका नागरिक यता निर्वाध रुपमा आवत जावत गर्दै आएका छन् । सीमा क्षेत्रमा त यता घर उता जग्गा , यता बसोबास उता व्यवसाय हुनेहरु उल्लेख्य छन् । त्यति मात्रै होइन यता घर र उता गोठ हुनेहरु पनि धेरै छन् । दुवै देशबीच रोटी बेटीको संवन्ध रहेका कारण धेरैको माइती मामली यता र उता छ ।

सीमा क्षेत्रमा को नेपाली, को भारतीय ? भनेर झट्ट छुट्याउन सकिने अवस्था छैन, जसका कारण पनि सुरक्षा कर्मीहरुलाई आवागमन नियन्त्रणमा हम्मे–हम्मे पर्ने गरेको छ । नेपाल–भारत सीमा नियन्त्रणका कुरा सीमा क्षेत्रका बासिन्दालाई प्रिय नलाग्नु स्वभाविकै हो । खुला सीमा भएकै कारण उनीहरुले धेरै लाभ उठाउँदै आएका छन् । दुवै देशबाट प्रदान गरिने सुविधा उपभोग गर्न पाएकै कारण सीमा क्षेत्रका वासिन्दाहरु आवागमन नियन्त्रण गर्ने कुरा उठ्ना साथ आक्रोसित हुँदै आएका छन् । आवागमन नियन्त्रणको एजेण्डा उठाउने राजनीतिक दलहरुले सीमा क्षेत्रका बासिन्दाबाट सहयोग पाउन सक्ने अवस्था छैन । पछिल्ला दिनमा यसको लाभ मधेसी दलहरुले उठाउँदै आएका छन् ।

कोरोना भाइरसको महामरीको यो समस्या पछि सीमा क्षेत्रका जनताले पनि समस्या महसुस गर्न थालेको अवस्था छ । जसको भारतमा घर सम्पत्ति तथा बसोवास छैन उनीहरुले खुला सीमाना नियन्त्रणको कुरा उठाउन थालेका छन् । यदी भारत सँग खुला सीमाना हुँदैनथ्यो भने नेपालमा कोरोनाको जोखिम उत्पन्न हुने थिएन भन्ने महसुस सीमा क्षेत्रका बासिन्दाले गर्न थालेका छन् । नेपालमा संक्रमण नभएको भए लकडाउन गर्नु पर्ने अवस्था आउने थिएन । यदी लकडाउनको अवस्था नआएको भए नेपालले धेरै उन्नतीको अवसर यतिबेला प्राप्त गर्ने थियो ।

नेपाल सँग सीमा जोडिएका मुलुकहरु चीन र भारत मात्रै हुन् । गत डिसेम्वर देखि नै चीनमा कोरोनाको महामारी सुरु भएको हो । जसका कारण चीन त्यतिबेला तवाह भएको थियो र पनि चीनका कारण नेपाल भित्र एक जनालाई पनि कोरोना संक्रमण भएन । यता भारतमा कोरोनाको महामारी सुरु भएको भरखर–भरखर मात्रै हो तर यो अवधिमा भारतका कारण नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ९० प्रतिशत भन्दा माथि छ । यसको एक मात्रै कारण हो खुला सीमाना ।

भारतबाट नेपालले यो भयावह अवस्था कहिलेसम्म बेहोर्नु पर्ने हो ? त्यसको टुंगो अझै छैन । करिव डेढ अर्व जनआवधी भाएको भारतमा नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह भइरहेको छ । नेपाल सँग सीमा जोडिएका भारतीय प्रान्तहरुमा मात्रै करिव आधा अर्ब जनआवधी छ । कोरोनाबाट बच्नका लागि नेपाल जानुपर्छ, नेपालमा गएर मात्रै सुरक्षित हुन सकिन्छ भन्ने सन्देश भारतमा प्रवाह भएको देखिएको छ । जसका कारण नेपाललाई थप समस्या पर्ने हो कि ? भन्ने अवस्था छ । उदाहरणका लागि गत सोमबार झापाको काकडभित्ता नाकाबाट एक हुल भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले अवरोध गर्यो । प्रहरीको अवरोध छिचोल्नका लागि उनीहरुले घरेलु हतियार सहित सुरक्षा पोष्ट माथि आक्रमण गरे । एउटा स्थानमा मात्रै यो अवस्था देखिएका कारण नेपाली सुरक्षाकर्मीहरु एकत्रित भई उनीहरुलाई तितर वितर बनाए । तर हरेक नाकामा यो अवस्था उत्पन्न हुने हो भने नियन्त्रण गर्ने सामाथ्र्य नेपाल सँग छैन । करिव १७ सय किलो मिटर खुला बोडर छ , जहाँबाट पनि छिर्ने अवस्था छ ।

यसै गरी अर्को समस्या मुस्लिमहरुको छ । भारतमा कोरोना संक्रमणको विजारोपण मुस्लिमहरुको एक धार्मिक समुदाय तगलिकी जमातले गरेको कुरा उठिरहेको छ । यो जमातले भारतका कुना काप्चासम्म कोरोनाको संक्रमण फैलाएको त्यहाँका मिडियाहरुले जनाई रहेका छन् । जसका कारण भारतको कट्टर हिन्दूबादी समुह मुसलमान समुदाय प्रति आक्रामक बनेको देखिएको छ । मुस्लिम समुदायका जनताले आँफुलाई असुरक्षित महसुस गर्न थालेका छन् । कतिमय मुसलमान धर्मगुरुहरु आँफूहरु माथिको संभावित आक्रमणबाट बच्नका लागि सुरक्षा खोज्दै नेपालमा छिरेर मस्जिद तथा मदरसामा लुकेर बसेको देखिएको छ । उनीहरुकै कारण पनि नेपालमा कोरोना फैलिएको छ ।

नेपालमा फेला परेका कुल संक्रमितमध्ये ८० प्रतिशत भन्दा बढी मुस्लिम समुदायकै छन् । लकडाउन समाप्त हुना साथ भारतमा हिन्दू–मुसलमानवीच हिँसा भड्किने खतरा देखिएको विज्ञहरुले औंल्याएका छन् । विज्ञहरुको यो विश्लेषण सत्यताको नजिक छ । यदि भारतमा हिन्दू मुसलमान दंगा भड्किियो भने खुला सिमा मार्फत नेपालमा शरणार्थीहरुको ओहिरो लाग्ने निश्चित छ । यस्ता शरणार्थीलाई थेग्न सक्ने सामाथ्र्य नेपालको हुने छैन । त्यसैले नेपालले बेलैमा होस पु¥याउनु जरुरी छ ।

सीमा जोडिएका हरेक जिल्लामा एक दुई वटा नाका राखेर अरु सबै ठाउँमा पर्खाल तथा तारवार लगाउने तर्फ नेपाल सरकारले ध्यान दिनु जरुरी छ । यो काम अहिले देखि नै सुरु हुुनु पर्छ । सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ । यस क्रममा सरकरले भारतीय सीमा क्षेत्रका निश्चित ठाउँमा पर्खाल तथा तारवारका लागि वजेट छुट्याउनु जरुरी छ । यतिबेला यो काम सुरु गर्ने हो भने सीमा क्षेत्रका बासिन्दा बाट खासै ठूलो अवरोध हुने अवस्था छैन । एउटा उखान नै छ –‘ भाँडो बनाउने हो भने फलाम तातेको बेला पिटिहाल्नु पर्छ । सेलाए पछि पिटेर निश्चित आकारमा ल्याउन सकिन्न ।’ यतिबेला फलाम तातेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.