नेपाल-भारत संयुक्त सैनिक अभ्यास SURYA KIRAN-XVI सम्पन्न

रिपोर्ट नेपाल | 2022 Dec 29 | 04:09 pm 1169

रुपन्देही, पुस १४ः जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मिति २०७९ पुस ०१ गतेदेखि संचालन भएको NEPAL-INDIA BATTALION LEVEL JOINT TRAINING EXERCISE "SURYA KIRAN- XVI को आज मिति २०७९ पुस १४ गते बलाधिकृत रथी श्री सरोज प्रताप राणाले एक विशेष कार्यक्रमका बीच समापन गरेका छन् ।

विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा
प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी संचालन भएको उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्ले र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ जना सकलदर्जा सहभागी रहेका थिए ।

समापन समारोहमा, बलाधिकृत रथी श्री सरोज प्रताप राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागी सैनिकहरुलाई बधाई दिदै तालिम प्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आई पर्ने जस्तो सुकै चुनौतीहरुलाई प्रभावकारी ढंगले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले सहभागी दुवै देशका सैनिकहरुलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

उक्त समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी श्री बाबुराम श्रेष्ठ, मध्य पश्चिम पृतनाका पृतनापति उपरथी श्री याम प्रसाद ढकाल, नं.३ बाहिनीपति एंव संयुक्त अभ्यासका अभ्यास निर्देशक सहायक रथी श्री प्रेम बहादुर पुन, नं.२२ बाहिनीपति सहायक रथी श्री नवराज गुरुङ्ग, नेपालका लागि भारतीय सैनिक सहचारी कर्णेल अमित शर्मा, रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा रुपन्देही जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

यस संयुक्त सैनिक अभ्यासले दुई देश बीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा आधारभूत सैनिक सिपको विकास हुनुको साथै आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.