नेपाल-भारतका हवार्इ उडानका लागि तीन रुट

रिपोर्ट नेपाल | 2018 Jun 16 | 07:42 pm 2406

काठमाडौं, असार २ : भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले अब सिमराबाटमात्रै छिर्नुपर्ने बाध्यताबाट मुक्ति पाउने भएका छन् । भारतले पूर्वमा विराटनगर, जनकपुर र पश्चिममा महेन्द्रनगरको आकाशबाट विमानलाई नेपाल प्रवेश पनि गर्न दिने भएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि नेपाललाई थप प्रवेशमार्ग उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणका प्राविधिकहरुको राजधानीमा बिहीबारदेखि चलेको दुईदिने वार्तापछि यस्तो निर्णय भएको हो। यसअघि काठमाडौंबाट उड्ने ठूला विमानले दक्षिण, पश्चिम र पूर्वतर्फ रहेका मुलुकहरुमा जाँदा महेन्द्रनगर, भैरहवा, जनकपुर र विराटनगर नाकाबाट भारतीय हवाई रुट भएर निस्किन पाउथे। यी रुट एकतर्फी मात्रै भएकाले ठूला विमान नेपाल छिर्न भने पाउदैन्थे। अब भने यी रुटलाई दुईतर्फी बनाउन भारत सहमत भएको छ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार, विराटनगर र जनकपुरबाट ठूला जेट विमानले प्रवेश गर्न सक्ने छन् तर महेन्द्रनगरबाट क्षेत्रीय उडान भर्ने मझौला विमानले मात्रै प्रवेश गर्न पाउने भएका छन्। ‘दिल्ली हुँदै आउने ठूला विमानलाई महेन्द्रनगरको आकाश भएर प्रवेश गराउन प्रस्ताव गरेका थियौं तर, भारतीय पक्षले अहिले साना विमानका लागि मात्रै सहमति जनाए,’ उपमहानिर्देशक पोखरलले भने।

यो सहमतिपछि अब नेपालगन्ज पश्चिमका धनगढी र सुर्खेतका लागि भारतको दिल्लीलगायत क्षेत्रीय सहरको उडानका लागि बाटो खुला भएको छ। यसअघि काठमाडौंबाट महेन्द्रनगरको आकाश हुँदै दिल्ली तथा मध्यपूर्वी र पश्चिमी मुलुक जानेमात्रै हवाई बाटो थियो। लिमा ६२६ नाम दिइएको यो बाटो दुईतर्फी थिएन। ठूला विमानको दाँजोमा कम उचाईमा उडान गर्ने वायुयानले अब महेन्द्रनगरबाट पश्चिमी मुलुकका क्षेत्रीय सहरमा उडान भर्न सक्ने भएका छन्।

‘पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाईमा उडान गर्ने वायुयानका लागि मौजुदा काठमाडौं-महेन्द्रनगर दिल्ली हवाई रुटलाई दुईतर्फी बनाइने,’ नागरिक उड्डयन प्राधिकरणद्वारा शनिबार जारी विज्ञप्तिमा छ, ‘दुबै पक्षले शोको उडान सुरक्षा मूल्यांकन त्यस्को आधारमा लागू गर्ने।’

त्यसैगरी नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश हुने विन्दु पनि दुईतर्फी हुने भएको छ। ‘दुवै पक्षबीच भएको सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौंदेखि विराटनगर र काठमाडौंदेखि जनकपुरबीचको हवाईटलाई दुईतर्फी बनाउने र दुबै पक्ष बसी सोको उडान सुरक्षा मूल्यांकनको आधारमा उक्त रुटहरुबाट वायुयान नेपाल प्रवेश गर्न सक्ने,’ प्राधिकरणद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ। पूर्वी सहरहरुबाट पनि भारतीय प्रान्त तथा क्षेत्रीय सहरमा उडानका लागि बाटो खुलेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.