नेपाल प्रेस युनियनको नवौं महाधिवेशन शुरु

रिपोर्ट नेपाल | 2022 Jul 22 | 01:10 pm 1357

मकवानपुर, साउन ६ः नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा आज शुक्रबारबाट सुरु भएको छ ।

महाधिवेशनको उदघाटन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूको हकहित, व्यावसायिक विकास, पेशागत सुरक्षाको सवालमा सरकार पछि नहट्ने बताएका छन् ।

शुक्रवार र शनिबार दुई दिनसम्म चल्ने कार्यक्रमलाई सम्बोधन गर्दै सूचना प्रविधि तथा मन्त्री ज्ञानेन्द्र कार्कीले विपीको कोइराला स्मृति दिवसको दिन सरकार र हाम्रो पार्टीले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्दै नेपालको पत्रकारितालाई दक्षिण एसियाकै उत्कृष्ट बनाउने बताए ।

उनले प्रेस स्वतन्त्रताको रक्षामा प्रेस युनियन समर्पित रहेको चर्चा गरे । नेपाल श्रीलंका जस्तै बन्ने भ्रमपूर्ण अफवा सत्य नभएको स्पष्ट पार्दै सञ्चारमन्त्री कार्कीले नेपालको अर्थतन्त्रमा केही जटिलताहरु देखिए पनि त्यो चाँडै सुधार हुनेमा सबैलाई विश्वस्त हुन मन्त्री कार्कीले आग्रह गरेका छन् ।

प्रेस युनियनको साल २०४८ मा स्थापना भए यता आम नेपाली पत्रकारको क्षेत्रमा गरेका कामहरू, अघिल्ला कालखण्डमा लोकतन्त्रप्रति देखाइएका आस्थापूर्ण प्रमाणहरू अतुलनीय रहेको भन्दै वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा शुरु भएको महाधिवेशनको उदघाटन सत्रमा संस्थाको मुखपत्र युनियन पत्रिकाको विमोचनसमेत गरिएको छ । नयाँ अध्यक्ष पदका लागि अनिता विन्दु र शिव लम्साललगायत चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।

नेपाल प्रेस युनियनको संशोधित विधान अनुसार नयाँ कार्यसमितिका लागि पदाधिकारीसहित एक सय चार सदस्यका लागि निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.