नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमानको मनपरी: टेन्डरमा घुस बार्गेनिङ, पैसा नपाउँदा काम अलपत्र

| 2023 Mar 22 | 09:32 am 3165

काठमाडौं, चैत ८ः नेकपा एमाले नेतृत्वको सरकारको पालामा नियुक्त भएका नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले टेलिभिजनमा मनपरी गर्न थालेका छन्। सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको आडमा महाप्रबन्धक बलले टेलिभिजनमा मनपरी गर्न थालेका हुन्। यसअघि नेपाल टेलिभिजनको स्याटेलाइट भाडामा हुने करोडौं घोटालाका हिस्सेदार सचिव अर्याल र महाप्रबन्धक बल उक्त रकम रोकिएपछि छट्पटिएर कार्यकारी अध्यक्ष समीरजंग शाहलाई असहयोग गर्ने र काम गर्न नसकेको आरोप लगाउने गरेका छन्।

कार्यकारी अध्यक्षको रुपमा शाह आएपछि स्याटेलाइटमा हुने कमिसनको खेल बन्द गराइदिएपछि कमिसन खाइरहेका सचिव अर्याल, महाप्रबन्धक बलसहित उनको ग्याङमा छटपटी सुरु भएको हो। यसबाहेक अन्य विभिन्‍न काम गर्दा पनि कमिसन खान नपाएपछि कार्यकारी अध्यक्षलाई असहयोग गर्ने र आरोप लगाउने खेलहरु सुरु गरेका छन्।
महाप्रबन्धक बलले टेण्डर आह्वान गरेर प्रक्रियामा आएका व्यक्तिहरुसँग बार्गेनिङ गर्ने र पैसा नपाएपछि काम नै रोक्‍ने र अबदेखि काम दिन्‍न भन्दै धम्क्याउने गरेका छन्। जसका कारण टेलिभिजनमा काम गर्न जान नै निर्माण कम्पनी तथा सप्लायर्सहरु डराउनुपर्ने स्थिति सिर्जना भएको छ।

नेकपा माओवादीले सञ्‍चार मन्त्रालय सम्हालेपछि आफूलाई नहटाउन भन्दै माओवादी नेताहरुको घरदैलोमा गरेका थिए। उनले बरु आफू माओवादीमा प्रवेश गर्न तयार भएको तर आफूलाई त्यहाँबाट नहटाइदिन अनुनवय विनय गरेपछि उनको जागिर थमौती भएको माओवादी स्रोतले बताएको छ।

आफ्नो जागिर थमौती भएपछि उनले आफ्नो वास्तविक रुप देखाएका छन्। यही आर्थिक वर्षभित्र निर्माण सम्पन्‍न गरिसक्‍नुपर्ने कामहरुका फाइल सबै आफ्नो टेबलमा थन्काएका छन् भने अन्य कमर्चारीहरुलाई पनि केही व्यक्ति लक्षित गरी फलानोको काम अघि नबढाउनु भन्दै धम्क्याउने गरेका छन्। उनले खरिद एकाइ प्रमुख राजकुमार थापा, जो स्याटेलाइट कमिसनका हिस्सेदार हुन्, उनलाई बोलाएर कार्यकारीलाई असफल बनाउने रणनीति बनाउने गरेको खुलेको छ।

थापाले पनि यसअघि सस्तोमा गुणस्तरीय स्याटेलाइट खरिद गर्न नहुने भन्दै कार्यकारी अध्यक्षविरुद्ध अभियान चलाएका थिए। त्यसैगरी प्रशासन महाशाखा प्रमुख पुरुषोत्तम महर्जनले पनि जिएमकै इशारामा कर्मचारीहरुलाई धम्क्याउने गरेको टेलिभिजनकै कर्मचारीहरुले गुनासो गरेका छन्। जिएम बलकै योजनामा उनले इटहरी च्यानल प्रमुख राजेन्द्रराज तिमिल्सिनालाई गलत सूचना दिएर समाचार प्रसारण गर्न लगाएका थिए। यतिसम्म हुँदा पनि नेपाल टेलिभिजनको कर्मचारी संघ, नेपाल प्रेस युनियन र कार्यकारी अध्यक्ष समीरजंग शाह भने मुकदर्शक बनिरहेका छन्।

यसरी महाप्रबन्धकको ज्यादतीबाट आजित भएर आफूहरु डिप्रेसनमा जानुपर्ने स्थिति सिर्जना भएको कर्मचारीहरु बताउने गरेका छन्। उनले कार्यालय समय ५ बजेपछि आफू नियुक्त भएको नेकपा एमाले निकट कर्मचारीहरुलाई कोहीसँग डराउनुपर्दैन, कार्यकारीलाई ठेगान लगाउनुपर्छ भन्‍ने र माओवादी निकट कर्मचारीलाई बोलाएर म त माओवादी प्रवेश गरिसके अब कार्यकारीलाई हटाउनुपर्छ भन्दै ब्रिफिङ गर्ने गरेका छन्।

यद्पि माओवादीका केही कर्मचारी भने जिएमले आफ्नो पद जोगाउनका लागि मात्रै आफू माओवादी प्रवेश गरेको बताइरहेको र यसबारे मन्त्री रेखा शर्मा सचेत हुनुपर्ने भन्दै मन्त्रालय धाउने गरेका छन्। यसरी मन्त्रालय धाउने एमाले निकट र माओवादी निकटका कर्मचारीहरुलाई जीएमलाई सहयोग नगरे राम्रो नहुने चेतावनी दिँदै आएका छन्।

नेपाल टेलिभिजनको श्रीवृद्धि भन्दा पनि कमाउने धन्दामा लागेका जिएमलाई राखेर सञ्‍चारमन्त्री शर्माले कसरी सञ्‍चार संस्था चलाउन सक्छिन् भन्दै माओवादी निकट प्रेस सेन्टरका नेताहरुले प्रश्‍न गर्न थालेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.