नेपाल एपीएफ स्कूल कीर्तिपुर परिषरमा वृक्षारोपण

| 2022 Jul 09 | 09:06 pm 1453

काठमाडौं, असार २५ः नेपाल पूर्व सशस्त्र प्रहरी संघको आयोजनामा नेपाल एपीएफ स्कूल कीर्तिपुर परिषरमा शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बृक्षारोपण कार्यक्रममा धुपी, अम्वा, सिरिस, कपुर र असारे फुल गरी ५३ वटा विरुवा रोपिएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले वातावरण संरक्षण तथा सम्वर्धन कार्यमा सो संघले देखाएको अग्रसरताप्रति आभार प्रकट गर्दै यस्ता सामाजिक कार्यहरुमा सो संघको सक्रिय सहभागिता निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले यस्ता बृक्षारोपण कार्यक्रमले वातावरण स्वच्छ राख्न मद्दत पुग्ने बतादै आगामी दिनमा समेत यस्ता सामाजिक र वातावरणमैत्री कार्यक्रमका लागि सो नगरपालिकाको साथ र सहयोग रहिरहने उल्लेख गरे ।स्वागत मन्तव्यको क्रममा नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले वातावरण संरक्षण कार्यमा हामी सबैको भूमिका महत्वपूर्ण रहने बताए ।

सो बृक्षारोपण कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय किशोर कुमार लामा र सिंह बहादुर श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारी, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु र उक्त स्कूलका शिक्षक, विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो  ।

सशस्त्र प्रहरी बल नेपालले कल्याण्कारी सेवा केन्द्र मार्फत काठमाडौंको कीर्तिपुर, सप्तरीको शम्भुनाथ नगरपालिका र बाँकेको कोहलपुरमा एपीएफ स्कूल मार्फत आवासीय सुविधा सहित वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका सन्ततीहरु तथा सर्वसाधारण नागरिकका जेहेन्दार बालबालिकाहरुलाई समेत उच्च स्तरिय शिक्षा प्रदान गर्दै आईरहेको छ ।

लाखौ मुल्य बराबरको विभिन्न सामान बरामद
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका ५ धर्मौली ईलाकाबाट सशस्त्र प्रहरीले करीब ७ लाख ८ हजार रुपैयाँ बराबरको अवैध चिनी बरामद गरेको छ । सो ठाउँमा भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी र मातहत युनिटहरुबाट खटिएको सशस्त्र प्रहरीले उल्लेखित मूल्य बराबरको २ सय ३६ बोरा चिनी बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देव प्रसाद पौडेलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ४३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा तथा विभिन्न सामान बरामद गरेको छ ।

अवैध रुपले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरीले पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ३ बेलासपुर चोकबाट बरामद गरेको हो ।
त्यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीडाँडास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको २ सय ५० किलाे सुपारी बरामद गरेको छ ।

नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागेको अवस्थामा उक्त सुपारी सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसवेला सुपारी लैजादै गरेका व्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त सुपारी सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.