नेपाल एकीकरणमा स्वामी शशीधरको योगदान

रिपोर्ट नेपाल | 2020 Jun 23 | 01:31 pm 3060

  • बसन्त भुजेल

नेपाल एकीकरणमा धेरैको योगदान रहेको छ , जसमध्ये कोही कोही गुमनाम समेत छन् । यी गुमनाम मध्ये कसैले आफ्नो योगदान इतिहासमा उल्लेख गर्न चाहेनन् , कसैको नाम छुट्न गयो । योगदान गर्ने तर आँफू प्रचारमा आउन भने नचाहने अर्थात आँफै गुमनाम बस्न रोज्ने योगदातामध्ये एक हुन् –‘शशीधर स्वामी ।’ उहाँ रेसुंगा स्वामीको नामले एक तपस्वीका रुपमा भारत वर्षभरी चिनिनुहुन्थ्यो । योगी नरहरिनाथका अनुसार भारत वर्षका विभिन्न स्थानमा कयौं वर्ष तपस्या गरेपछि उहाँ मुक्तिनाथ र पुशपतिनाथको दर्शन गर्न पाल्पा प्रवेश गर्नु भयो । त्यतिबेला पाल्पा राज्य धेरै नै विशाल र शक्तिशाली थियो । केही दिन पाल्पाली राजाको पाहुना भएर बस्ने क्रममा उहाँले सल्लाह दिनुभयो –‘ अंग्रेजहरुले सम्पूर्ण भारत वर्ष निल्दै छन् , मुसलमान पछि अब भारत वर्ष इशाईहरुको कब्जामा जाँदै छ , यो कव्जाबाट मुक्त गर्नका लागि तपाँइले यस हिमाली–पहाडी भूखण्डलाई एकीकरण गरी, बलियो हिन्दू अधिराज्य निर्माण गर्नु पर्यो , ऋषी, महर्षीहरुको यो तपोभूमीलाई कुनै पनि हालतमा इशाईहरुको अधिनबाट जोगाउनु पर्यो ।’ तर पाल्पाका सेन राजाले उहाँको कुरामा चासो दिएनन् । सामान्य जोगी ठाने उनले । स्वामीले पनि सौखिन सेन राजाबाट यो महान काम सम्पन्न नहुने ठान्नु भयो । त्यस पछि झिसमिसेमै उठेर उहाँ रिडी पुगी न्वाई–ध्वाई गरेर गुल्मीका ठकुरी राजाको पाहुना हुन जानुभयो, तर गुल्मीका राजाले खासै वास्ता गरेनन् । त्यसपछि उहाँ रेसुंगा पर्वतको शिखरमा पुगेर योग ध्यान लिनुभयो । योग ध्यानमा रहेकै बेला गुरु गोरखनाथ सँग उहाँको संवाद हुन्थ्यो । उहाँले भारत वर्ष इशाईहरुको कव्जामा जान लागेकोले बैदिक सनातन धर्म संस्कृतिको रक्षाका लागि हिमाली–पहाडी क्षेत्रलाई बलियो किल्ला बनाउने आफ्नो अभियान रहेको कुरा गोरखनाथलाई सुनाउनु भयो । गोरखनाथले आफ्नो आश्रम नजिकै गोरखा दरवारमा एक प्रतापी राजकुमारको जन्म भइसकेको जानकारी दिँदै भन्नु भयो –‘उक्त राजकुमार कुनै दिन तिम्रो दर्शन गर्न आउनेछन् , आवश्यक शिक्षा दिनु ।

यता गोरखा दरवारमा पृथ्वीनारयण शाह हुर्कँदै गए भने उता रेसुंंगा स्वामीको लीला पनि चारै तिर फैलँदै गयो । कहिले चरा बन्ने, कहिले बाघ बन्ने, कहिले नागको रुपधारण गर्ने यस्तो अपरम्पार शक्ति भएका तपस्वी रेसुंगामा छन् रे, भन्ने पृथ्वीनारायण शाहले थाह पाए । नेपाल एकीकरणको अभियानमा रहेका उनले गुप्तभेषमा रेसुंगा पुगेर स्वामीको दर्शन गरे । स्वामीले भन्नु भयो –‘बैदिक सनातन धर्म संस्कृति जोगाउनका लागि तिमीले एकीकरणको थालनी गर्नु , सक्दो सहयोग म गर्नेछु , अवश्य सफल हुनेछौ ।’ आँफुले जे सोचेको हो त्यही कुरा रेसुंगा प्रभुको मुखबाट सुनेपछि पृथ्वीनारायण शाह उत्साहित हुँदै बलियो नेपाल बनाउने प्रतिवद्धता बोकेर गोरखा फर्के । फलस्वरुप आजको नेपालको जन्म भएको हो । पृथ्वीनारायण शाहले एकीकरण गरेकै कारण नेपाल अंग्रेजको पन्जामा पुग्नबाट जोगियो । अंग्रेज फौजलाई गोर्खालीहरुले धेरै पटक हराई दिए । गोर्खालीहरुलाई चिढ्याएर भारत वर्षमा टिक्न तथा विश्वमा आफ्नो साम्राज्य फैलाउन सकिन्न भन्ने निश्कर्षमा अंग्रेजहरु पुगे । उनीहरुले नेपालसँग मित्रताको हात फैलाए । बलिया अंग्रेजसँग दुश्मनी जारी राख्नु भन्दा उच्च शतर्कताका साथ मित्रता गर्नु उचित हुने कुरा पृथ्वीनारायण शाहले दिव्योपदेशमै उल्लेख गरेका थिए । उनका उत्तराधिकारीहरुले त्यसको अनुशरण गरे ।

अंग्रेजसँगको मित्रतापछि आजको लाहोर गोर्खालीहरुको भर्ती केन्द्र बन्यो । अर्थात गोर्खालीहरुले व्रिटिश साम्राज्यमा रोजगारीको ठूलो अवसर पाए । तराई जंंगलै जगंलले ढाकिएको, बेसी तथा टार क्षेत्रमा औलोको विकराल महामारी रहेको त्यो अवस्थामा पहाडको खेतीपाती तथा पशुपालनले मात्रै जिविका चल्न सक्ने अवस्था थिएन, त्यसैले व्रिटिश सेनाको रोजगारीले गोर्खालीहरुलाई ठूलो राहत दियो । यता व्रिटिशहरुले पनि गोर्खालीको मद्धतले विश्वको लगभग आधा भूभागमा आफ्नो शासनसत्ता स्थापना गरे ।

आज हाम्रो छिमेकीको रुपमा भारत नाम गरेको जुन देश छ त्यो देश द्धापर युगमै विलुप्त भइसकेको थियो । त्यसलाई अंग्रेजहरुले पुन एकीकरण गरी विशाल भारत बनाईदिए । यसमा गोर्खालीहरुको ठूलो योगदान छ । त्यसैगरी पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खालीहरु व्रिटिशको पक्षमा लडे । यस क्रममा गोर्खालीहरुको वीरताको ख्याति विश्वभरी नै फैलियो ।
भारत पछि बर्मा , मलाय , ब्रुनाई , सिंगापुर , अपगानस्तान , इरान , इराक , इटाली , फ्रान्स , जर्मनी, जापान , अर्जेन्टिना लगायत धेरै देशका सेनालाई गोर्खाली सेनाले परास्त गरेको इतिहास छ । हिटलरको समेत सातो जान्थ्यो, गोर्खाली सेनाको नाम सुन्ने वित्तिकै । गोर्खाली भनेका विश्वकै सबै भन्दा उत्कृष्ट लडाकु सेना हुन् भन्ने छाप अहिले पनि परिरहेकै छ ।

खासमा भन्ने हो भने दोस्रो विश्वयुद्धको समाप्ती तथा उपनीवेश युगको अन्त्यपछि बेलायतलाई गोर्खाली सेनाको अनिवार्य आवश्यकता थिएन , तर गोर्खालीले प्रदर्शन गरेको बहादुरी लगाएको गुनलाई अंग्रेजहरुले विर्सेनन् ।, आजसम्म पनि विर्सेका छैनन् । भारत स्वतन्त्र भएपछि गोर्खाली सेनाको केही पल्टनलाई भारतको अनुरोधमा अंग्रेजहरुले त्यहीँ छाडेको देखिन्छ भने धेरै जसो पल्टनलाई बेलायत नै लगेको इतिहास छ । मलायमा पनि बेलायतले केही पल्टन राख्यो । सामाजिक तथा व्यापारिक महत्व बोकेको हङकङ टापुलाई केही वर्षका लागि लिजमा लिएरै बेलायतले करिव १० हजारको संख्यामा गोर्खाली सेना तैनात गर्यो ।

गोर्खाली सेनाले प्रदर्शन गरेको पछिल्लो वीरता भनेको फोकल्याण्ड टापुमा भएको युद्ध पनि हो । बेलायती अधिनस्थ फोकल्याण्ड टापुलाई नजिकैको देश अर्जेन्टिनाले आफ्नो कव्जामा लियो । फोकल्याण्डलाई कब्जाबाट मुक्त गर्न सन् १९८० मा बेलायतले गोरा सेना पठायो , तर ती सेनालाई अर्जेन्टिनी सेनाले चिरिप्पै पारिदिए । बेलायत जस्तो मुलुकले यो पटक करारी हार बेहोर्नु पर्यो । त्यस पछि सन् १९८२ मा बेलायतले गोर्खा पल्टन खटायो । गोर्खा पल्टनले एक खेपमै अर्जेन्टिनी सेनालाई चिरिप्पै पारिदियो । यसरी फोकल्याण्डको युद्धमा गोर्खालीहरुले बेलायतको इज्जत जोगाइदिए । गोर्खालीहरुले वीरता देखाएको लडाँइमध्ये फोकल्याण्ड अन्तिम होइन । फोकल्याण्डपछि अफगानस्तान, इराक सिरिया लगायतका मुलुकमा पुगेर गोर्खाली सेनाले वीरता देखाई सकेको छ ।
क्रमशः

(भुजेल गाेर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.