नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्:प्रधानमन्त्री

| 2024 Apr 28 | 02:08 pm 1185

काठमाडौँ, १६ वैशाख / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन आह्वान गरेका छन् ।

‘नेपाल लगानी सम्मेलन २०२४’ को आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए ।

आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रको समापनपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपालमा लगानीको उचित वातावरण बनाइएसँगै लगानी भित्रने विश्वास समेत व्यक्त गरे ।

‘हामीले जति वातावरण बनाउन सक्यौँ, त्यति लगानी आउने हुन्छ । आजदेखि नयाँ विश्वासको वातावरण बनेको छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

लगानी सम्मेलनको उद्घाटन सत्र उत्साहजनक रहेको उल्लेख गर्दै उनले सहभागी मुलुक र लगानीकर्ताको सहभागिताको दृष्टिकोणबाट निकै राम्रो भएको बताए ।

‘उद्घाटन सत्र धेरै राम्रो भयो । हामीले सोचेकोभन्दा सहभागीको सङ्ख्या धेरै बढ्यो । एक हजार दुई सय हाराहारी होला भनेको दुई हजारभन्दा बढी लगानीकर्ताको सहभागिता रह्यो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘४५–५० देशको सहभागिता रहला भन्ने अनुमान गरिएको थियो । सहभागी मुलुकको सङ्ख्या ६० भन्दाबढी रह्यो उनले भने ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.