नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम “Ex-Teak Nail 22” समापन

रिपोर्ट नेपाल | 2021 Nov 30 | 05:41 pm 2333

काठमाडाैं, मंसिर १४ः नेपाली सेना र अमेरिकी सेनाबीच मिति २०७८ कार्तिक १५ गतेबाट संचालन भएको संयुक्त तालिम “Ex- Teak Nail 22” को आज मिति २०७८ मंसिर १४ गते छाउनीस्थित एक कार्यक्रमकाबीच बलाध्यक्ष रथी सरोज प्रताप राणाले समापन गरेका छन् ।

मित्रराष्ट्र अमेरिकाका महामहिम राजदूत His Excellency Mr. Randy W. Berry को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा श्री सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरन्जन कुमार श्रेष्ठ, श्री युद्धकार्य विभागका प्रमुख उपरथी निर्मल कुमार थापा लगायत नेपाली सेना तथा अमेरिकी सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

उक्त तालिम नेपाली सेनाबाट विपद् व्यवस्थापनमा खटिदै आइरहेको Disaster Assessment and Response Team (DART) बाट ४५ जना र अन्य सम्बद्ध निकायहरुबाट ४ जना गरी जम्मा ४९ जना तथा अमेरिकी सेनाका १७ जना गरी जम्मा ६६ जना सम्मिलित गराई काठमाण्डौं, पोखरा र अन्नपुर्ण वेश क्याम्प ईलाकामा संचालन भएको थियो । तालिममा शिक्षार्थीहरुलाई जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिईएको थियो । मिति २०७८ मंसिर ११ गते पोखरामा संचालन भएको Culminating Exercise को बलाधिकृत रथी बालकृष्ण कार्कीले समेत निरीक्षण गर्नु भएको थियो ।

यस किसिमको संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरुमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिबृद्धि हुनुको साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.