काठमाडौं, फागुन ३: महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसरमा नेपाली सेनाद्वारा यही फाल्गुन १ गतेदेखि जंगी अड्डामा आयोजना गरिएको निःशुल्क बृहत प्रदर्शनीको आज शनिबार सम्पन्न भएको छ ।
नेपाली सेनाको गौरवमय इतिहास तथा वर्तमानलाई समेटेर विगतदेखि वर्तमानसम्म गरेको उल्लेखनीय कार्यहरु, सेनाको विभिन्न उपकरण, पोशाक तथा सामग्रीहरुको फोटो प्रदर्शनीमार्फत आमजनमानसमा विशेष गरी युवावर्ग, विद्यार्थी, बालबालिकाहरुलाई नेपाली सेनालाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले निःशुल्क बृहत प्रदर्शनीको आयोजना गरिएको हो ।

नेपाली सेना इतिहासदेखि वर्तमानसम्म भन्ने थिममा आधारित उक्त प्रदर्शनी अवलोकनको लागि उपत्यका भित्रका विद्यालयहरुका, आम नेपाली जनता, पर्यटक तथा अन्य विदेशी नागरिकहरुका लागि समेत खुला गरिएको थियो ।
नेपाली सेनाको विविध गतिविधिहरु समावेश गरी आयोजना गरिएको उक्त प्रदर्शनीमा जम्मा २३ वटा स्टल रहेको थियो ।
उक्त प्रदर्शनीमा फागुन १ गतेदेखि ३ गतेसम्म जम्मा तेह्र हजार तीन सय त्रिहत्तर जनाले अवलोकन गरेका थिए ।
यस प्रकारको प्रदर्शनीमार्फत जनमानसमा विशेष गरी युवावर्ग, विद्यार्थी, बालबालिकाहरुद्वारा नेपाली सेनालाई नजिकबाट नियाल्ने अवसर प्राप्त भएको विश्वास नेपाली सेनाले लिएको छ ।