सिन्धुपाल्चोक, असोज २५ः जिल्लाको जुगल गाउँपालिका २ नाम्फा देखि करिब १ किलोमिटर माथि र वडा नं. २
सञ्च गाउँ भन्दा करिब २ सय मिटर तलको एउटा विशाल ढुङ्गा २०७२ सालको भुकम्पको कारण आफ्नो पहिलेको स्थानबाट केही मात्रामा सरी तल होचो भु–भागमा झर्ने अवस्थामा रहेको थियो ।

त्यस स्थानको जमिन प्राकृतिक रुपमा निकै खुकुलो रहेको हुँदा वर्षा लगायत अन्य कुनै कारणबाट आफ्नो स्थान छोडेको खण्डमा जुगल गाउँपालिका २ अन्तर्गत रहेको सान्चो, नाम्फा ठूलो र नाम्फा सानो गाउँमा गम्भिर मानविय र भौतिक क्षति पर्याउनुको साथै बलेफी खोला थुनिन गई निर्माणाधिन बलेफी हाईड्रो पावर प्रोजेक्टलाई समेत ठुलो असर पार्ने निश्चित थियो ।
यस ढुङ्गाका कारण नाम्फा गाउँको १४९ र सञ्च गाउँका ११५ घरहरुमा भौतिक तथा मानवीय क्षति हुने प्रवल
सम्भावना रहेकाले स्थानियवासीहरुमा डर एवं त्रासको अवस्था रहेको थियो ।
गत २०७७ असोज ६ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकबाट अनुरोध भए अनुसार संभावित जोखिमलाई न्यूनिकरण गर्न जिल्लामा तैनाथ गोरख बक्स गण, कालीसिद्धि गण (ईन्जिनियरिङ्ग) तथा माथिल्लो बलेफि ए हाईड्रोपावरका प्राविधिकहरुको समन्वयमा उक्त ढुङ्गालाई सुरक्षित रुपमा हटाउनका लागी विस्तृत योजना तयार गरिएको थियो जसलाई अपरेशन नाम्फा बचाउँ नाम दिइएको थियो।

असोज १२ गतेबाट कार्य आरम्भ गरिएको उक्त प्रयासमा रोटरी ड्रिल र विष्फोटक पदार्थको सन्तुलित मात्रा प्रयोग गरी असोज २३ गते सुरक्षित रुपमा ढुङ्गा हटाउने कार्य सफलताका साथ सम्पन्न भएको छ । उक्त कार्यमा ३ सय ३५ किलो विष्फोटक पदार्थ लगायत अन्य सामाग्री प्रयोग भएको थियो ।
उक्त जोखिमपूर्ण विशाल ढुङ्गा सुरक्षित रुपमा हटाउन सफल भएकोमा कार्यस्थलमा खटिएका नेपाली सेनाका जवानहरुको सम्मानमा आज आइतबार स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीले एक कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त विशाल ढुङ्गाका कारण डर र त्रासमा रहेका नाम्फा तथा आसपासका वासिन्दाहरुको समस्या समाधान गर्ने कार्यमा सहयोग गर्ने स्थानीयवासी तथा जनप्रतिनिधिहरु एवं प्राविधिकहरुमा नेपाली सेनाले आभार प्रकट गरेको छ । साथै नागरिक सैनिक सम्बन्धमा अझ प्रगाढ बनाउन नेपाली सेना सदैव क्रियाशिल रहने जानकार गराएको छ ।