म्याग्दी,मंसिर २५ – म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पौलस्त्य पुलहाश्रम क्षेत्रमा नवनिर्मित हेलिप्याड स्थानीय तहलाई हस्तान्तरण भएको छ । नेपाली सेनाको दक्ष जनशक्ति तथा प्राविधिक सहयोगमा बनाइएको हेलिप्याड एक समारोहबीच उद्घाटन गरी बेनी नगरपालिका र वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो । नेपाली सेना पश्चिम पृतना हेडक्वाटरको ‘एक आर्थिक वर्ष, एक युनिट, जोडी हेलिप्याड निर्माण’ कार्ययोजना अन्तर्गत नागरिकमैत्री हेलिप्याड बनाइएको नेपाली सेनाले जनाएको छ ।
हेलिप्याड निर्माणकार्यमा बेनी नगरपालिका र वडा कार्यालय पुलाचौरले आर्थिक व्यवस्थापन गरेका थिएभने नेपाली सेनाको शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीबाट दक्ष जनशक्तिसहित प्राविधिक सहयोग उपलब्ध भएको थियो । आइतबार नवनिर्मित हेलिप्याडको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दिपककुमार बानियाँ र म्याग्दीको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । पृतनापति बानियाँले बेनी नगरका प्रमुख केसी र पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँलाई हेलिप्याड हस्तान्तरणको प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।
हेलिप्याडको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति बानियाँले समुदायस्तरमा हुने विपद्जन्य व्यवस्थापनमा खोज, उद्धार तथा राहतलगायत कार्यमा आवश्यक सहयोग पु¥याउन हेलिप्याड बनाइएको बताउनुभयो । उहाँले गण्डकी प्रदेशका १० वटा जिल्लामा जोडी हेलिप्याड बनाउने कार्यक्रमअनुसार म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा हेलिप्याड निर्माणसम्पन्न गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो । यसैगरी कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख केसीले नवनिर्मित हेलिप्याडले पुलाचौरसहित जिल्लाको पात्लेखेत र कुहुँका स्थानीयवासी लाभान्वित हुन सक्ने बताउँदै स्थानीय र वडाले हेलिप्याडको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली सेनाले बनाउने जोडीमध्ये अर्को हेलिप्याड पनि बेनी नगरपालिका क्षेत्रभित्रै निर्माण गरिदिन आग्रह गर्दै त्यसका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । समुन्द्री सतहदेखि १७ सय १० मिटरको उचाइमा निर्माण गरिएको हेलिप्याडको डायमिटर (लम्बाइ र चौडाई) ४० फिट रहेको छ ।
हेलिप्याडमा साना, मझौला र एमआई सेभेन्टिनलगायत हेलिकप्टरहरु सजिलै अवतरण गर्न सक्ने नेपाली सेनाले जनाएको छ । नवनिर्मित हेलिप्याडबाट पौलस्त्य पुलहाश्रमको भ्रमण तथा दर्शन गर्न आउने पर्यटकहरुलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि म्याग्दीका तत्कालीन प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको पहलमा स्थानीय तहको आर्थिक सहयोग तथा व्यवस्थापनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्राविधिक सहयोगबाट जिल्लाको पाँचवटा गाउँपालिकाको विभिन्न वडामा हेलिप्याडहरु बनाइएको थियो । त्यतिबेला ‘एक वडा, एक हेलिप्याड’ निर्माणको अभियानमार्फत गाउँपालिकाको वडास्तरमा हेलिप्याड बनेका थिए । सोही क्रममा म्याग्दीको मालिका गाउँपालिकाको सबै सातवटै वडामा हेलिप्याड बनेपछि नेपालमा हेलिप्याडयुक्त पालिकाको रुपमा मालिका सुचीकृत समेत भएको थियो ।
( नेपाल टेलिभिजनबाट )