नेपाली सेनाको उद्योगहरुबाट उत्पादित विष्फोटक पदार्थ वितरण सहजीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

रिपोर्ट नेपाल | 2019 Nov 28 | 11:11 am 1567

काठमाडौं, मंसिर १२: बुधबार जंगी अड्डामा बलाध्यक्ष रथी गौरव तण्डुलको प्रमुख आतिथ्यतामा नेपाली सेनाको उद्योगहरुबाट उत्पादित विष्फोटक पदार्थ वितरण प्रक्रियालाई थप सरल र व्यवहारिक बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भएको छ ।

नेपाली सेनाको सुनाचरी ईमल्सन प्लाण्ट र स्वयम्भू वारुदखानाबाट उत्पादित विष्फोटक पदार्थहरुको गुणस्तर, उत्पादन क्षमता, आपूर्तिमा सुनिश्चितता तथा वितरण प्रक्रियालाई थप सरल, सहज र व्यवहारिक बनाउने प्रक्रिया सम्बन्धमा नेपाली सेनाका विभिन्न सम्बद्द विभागहरुबाट जानकारी गराउन कार्यक्रम संचालन गरेको हो ।

विभिन्न प्रयोगकर्ता सरोकारवाला निकायहरुको तर्फबाट विस्फोटक पदार्थ प्राप्तीमा विविध पक्षमा भोग्न परिरहेका समस्या तथा कठिनाईहरु, गुनासाहरु तथा राय सुझावहरु राख्नको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको सेनाले बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाली सेनाको तर्फबाट सुनाचरी ईमल्सन प्लाण्टमा हालै मात्र आधुनिक मेशिन जडान गरी २ हजार ४ सय मेट्रिक टनको उत्पादन क्षमता, गुणस्तर र माग बमोजिमको क्रमिक रुपमा आपूर्ति गर्दै जाने तथा सरल र व्यवहारिक स्वीकृति प्रक्रिया तथा एउटै कार्यालयबाट उत्पादित विस्फोटक पदार्थ सहज रुपमा प्राप्त हुने सम्बन्धी प्रस्तुतिकरणहरु गरी विभिन्न परियोजनाहरुका सञ्चालक तथा प्रतिनिधीहरुलाई जानकारी गराईएको थियो ।

सरोकारवालाहरुको तर्फबाट यथेष्ठ रुपमा गुणस्तर, उत्पादन क्षमता, आपूर्तिको प्रतिवद्धता, मूल्य र समयमै विस्फोटक पदार्थको प्राप्ती सम्बन्धमा जिज्ञासा तथा राय सुझावहरु राखिएका थिए ।

उक्त कार्यक्रममा सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशक, ईन्जिनियरिङ्ग विभागका प्रमुख, नेपाली सेना कल्याणकारी बोर्डका कार्यकारी निर्देशक, नेपाल सरकारका सम्बद्ध मन्त्रालयबाट पदाधिकारीहरु, नेपाली सेनाका विभिन्न विभाग तथा कार्यालयका निर्देशकहरु, सञ्चारकर्मीहरु, विभिन्न परियोजनाका प्रमुख, व्यवस्थापक तथा प्रतिनिधीहरुको उपस्थिती रहेका थिए ।

नेपाली सेनाले विभिन्न राष्ट्रिय महत्व तथा गौरवका आयोजनाहरुको निर्माण कार्यमा विस्फोटक पदार्थको आपूर्ति गरी राष्ट्रको विकास निर्माणमा योगदान दिनुका साथै स्वयम् पनि संविधानप्रदत्त जिम्मेवारी बमोजिम विकास निर्माण कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहिरहेको वर्तमान परिवेशमा देशमा सञ्चालित अन्य विभिन्‍न विकास निर्माणका आयोजनाहरुको आ–आफ्नो उद्देश्य अनुरुप कार्य सम्पन्‍न गर्न आवश्यक पर्ने विस्फोटक पदार्थहरुको प्राप्ति प्रभावकारी एवम् सहज ढंगबाट होस् भन्‍ने अभिप्रायले संचालन गरिएको यस अन्तरक्रिया कार्यक्रम उपलब्धीमूलक हुनुको साथै प्राप्त राय सुझावहरुले विस्फोटक पदार्थको उत्पादन तथा वितरण सम्बन्धी कार्यहरुमा ठोस मद्दत पुग्ने अपेक्षा नेपाली सेनाले राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.