काठमाडाैं, फागुन २५ः ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा श्री सैनिक श्रीमति संघको आयोजनामा श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा नेपाली सेनामा कार्यरत महिला सैनिकहरु तथा सकलदर्जाका परिवारजनलाई Ovarian Cancer तथा महिलासँग सम्बन्धित अन्य क्यान्सरको बारेमा जानकारी गराउने तथा सचेतना फैलाउने उद्देश्यले प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको प्रमुख आतिथ्य तथा प्रमुख वक्ता अभिनेत्री मनिषा कोइरालाको उपस्थितिमा बुधबार सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।
उक्त कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले क्यान्सर सम्बन्धी आफ्नो अनुभव सहभागीहरुलाई अवगत गराएकी थिइन् भने, महिला रोग विशेषज्ञहरुले Ovarian Cancer तथा महिलासँग सम्बन्धित अन्य क्यान्सर रोग बारे जानकारीमुलक प्रस्तुतिकरणका साथै क्यान्सर रोगको सम्बन्धमा अपनाउनु पर्ने सतर्कताबारेमा प्रकाश पारेकी थिइन् ।
साथै, उक्त कार्यक्रममा श्री सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्मालगायत अन्य पदाधिकारीहरु, नेपाली सेनाका महिला रथीवृन्द, अधिकृत तथा अन्यदर्जालगायत सकलदर्जाका परिवारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।