नेपाली महिला राष्ट्रिय फुटबल टोली सेमिफाइनलमा प्रवेश

| 2022 Sep 12 | 07:44 pm 197

काठमाडौं, भदाै २७ः नेपाली महिला राष्ट्रिय फुटबल टोली समूह बी को विजेता बन्दै छैटौं महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा श्रीलंकालाई ६–० ले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो ।

नेपालको जितले भुटान पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । दुई खेलमै हार बेहोरेको श्रीलंका समूह चरणबाटै बाहिरिएको छ । सोमबार दशरथ रंगशालामा नेपालका लागि अमिशा कार्कीले २ तथा रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले १-१ गोल गरे । पहिलो हाफमा चार गोल गरेको नेपाल दोस्रो हाफमा दुई गोल थप्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी अमिशाले दुवै गोल गरिन् ।

समूह ‘बी’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो । भुटानले ३ तथा श्रीलंका अंक विहीन बन्यो । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० ले हराउँदा भुटानले श्रीलंकालाई ५–० ले हराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.