नेपाल प्रहरीमा एसएसपीदेखि जवानसम्म आठ हजार दरबन्दी माग

| 2018 Jun 03 | 07:03 am 1429

काठमाडौं, जेठ २०: नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ। मुलुकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो।

प्रहरीले थप दरबन्दीसम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिसकेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट पु-याउन पाँच सयभन्दा धेरै युनिट थप गरिनुपर्छ । प्रहरीको मुलुकभर अहिले प्रहरी प्रधान कार्यालयसहित दुई हजार ३३५ युनिट कार्यरत छन्।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले सरकारसँग आठ हजार प्रहरी कर्मचारीको थप दरबन्दी माग गरिएको जानकारी दिए। ‘मुलुकको प्रत्येक स्थानीय तहमा प्रहरीको उपस्थिति हुन कम्तीमा एक युनिट राख्नैपर्ने हुन्छ । यसका लागि गृह मन्त्रालयसँग थप दरबन्दी माग गरिएको छ,’ उनले भने।

एसएसपीदेखि सिपाहीसम्म माग

प्रहरी प्रधान कार्यालयका अनुसार थप दरबन्दीमा एसएसपीदेखि सिपाहीसम्मको दर्जा रहेका छन्। मुलुक संघीय संरचनामा गएपछि प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन खडा गरिनुपर्नेछ। त्यसमध्ये प्रदेश नम्बर १, ३, ४, कर्णाली प्रदेश र प्रदेश ७ मा साबिककै क्षेत्रीय प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयमा रूपान्तरण गरिएको छ।

तर, प्रदेश नम्बर २ र ५ मा भने नयाँ संरचना खडा गरिनुपर्ने भएकाले प्रहरी कर्मचारीको थप दरबन्दी आवश्यक रहेको कार्यालयले जनाएको छ। त्यस्तै, साबिकको ७५ बाट बढाएर ७७ जिल्ला बनाइएको छ । थप गरिएको जिल्लामा कम्तीमा डिएसपीदेखि सिपाहीसम्मको दरबन्दी आवश्यक भएको खबर नयाँ पत्रिका दैनिकमा छ ।

प्रत्येक स्थानीय तहमा प्रहरी निरीक्षकको कमान्डमा कम्तीमा ३५ प्रहरी कर्मचारी रहनुपर्ने कानुनी बाध्यता छ । गृह मन्त्रालयको तथ्यांकअनुसार ३० वटा स्थानीय तहमा प्रहरीको एउटै पनि युनिट राख्न सकिएको छैन। यसका लागि पनि थप दरबन्दी आवश्यक रहेको प्रहरीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.