काठमाडौँ, साउन २२ः नेपाली कांग्रेसको संस्थापन इतर समूहले जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।
१४ औँ महाधिवेशन निर्धारित मितिमा हुने सम्भावना लगभग टरेका बेला पौडेल समूहले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।
नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केसीले अगामी साउन २५ गते काठमाडौँमा बस्ने गरी भेला बोलाइएको जानकारी दिएका छन् ।
केसीका अनुसार भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदम लगायतका विषयमा छलफल हुने छ। यसका साथै क्रियाशिल सदस्यता विवाद कसरी समाधान गर्ने भन्नेबारेमा पनि भेलामा छलफल हुने उनले बताए ।
कांग्रेसको रामचन्द्र पौडेल समूहमा ४८ जना जिल्ला सभापतिहरु रहेका बताइन्छ ।
यसैबीच कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताइसकेका छन् ।
चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण पूर्वनिर्धारित मितिमा महाधिवेशन सम्भव नरहेको बताएका हुन् ।
उनले आन्तरिक समस्या समाधान गरेर मङ्सिरसम्ममा महाधिवेशन हुनुपर्ने बताए ।