काठमाडौँ २६ जेठ / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन्।
महामन्त्री थापाले नेकपा (एमाले) अथवा नेकपा माओवादीसँग मिलेर सरकार बनाउने कुनै प्रयास र छलफल नगर्ने बताए । पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका नेतृत्वसँग शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधानका कतिपय विषयमा पुनरावलोकन गरेर सङ्घीय गणतन्त्रलाई बलियो बनाउने विषयमा कुराकानी गरिरहेको जानकारी दिए ।
महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताए। तीन वर्षको समय पार्टीलाई पुनःनिर्माण र बलियो बनाउने समय भएको उनको भनाइ छ।