नेपालले भारतलाई १–0 ले पराजित गर्दै साफ महिला फुटबलको फाइनलमा

| 2022 Sep 16 | 08:30 pm 233

काठमाडौं, भदौ ३०ः भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।

घरेलु मैदानमा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो। नेपालको जितमा  रश्मी कुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन्।

पहिलो हाफको इन्जुरी समयमा प्रिती राईको पासमा रश्मीले गरेकाे गोल नै निर्णायक बनेको हो। नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहोरेको छैन। समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। साथै भारत भने पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ। भारत यसअघिका सबै संस्करणको विजेता हो।

भारत प्रतियोगिताबाट बाहिरिएसँगै अब साफले नयाँ महिला च्याम्पियन पाउनेछ। नेपाल भने पाँचौं पटक फाइनलमा प्रतिष्पर्धा गर्दैछ। महिला साफमा भारतमाथि नेपालको यो ऐतिहासिक जित हो।

यसअघि भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ। नेपालले सोमबार फाइनलमा बंगलादेशको सामना गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.