काठमाडाैं, भदाै १९ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चीन र भारत नेपालका सधैंका छिमेकी भएकाले सन्तुलन कायम गरेर अघि बढ्नु पर्ने बताएका छन्।
मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् ।
सभापति देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपाल अघि बढ्नुपर्ने बताए। उनले नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे। उनले भनेका कुरा नमान्ने हो भने विद्युत नकिन्ने हुँदा थोरै लचिलो भएर भएपनि देशको हीतमा काम गर्नुपर्ने बाध्यता रहेको बताए।
सभापति देउवाले भने, ‘हामीले सबैलाई मिलाउनुपर्छ। चीन र भारत हाम्रा छिमेकी राष्ट्र हुन्। दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता छ। आवश्यकता छ। कोसँग कति बोल्ने कति कुरा राख्ने भन्ने हुन्छ। चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ। सन्तुलन मिलाएर अघि बढ्नुपर्छ।’