ललितपुर, मंसिर ३ : स्वतन्त्र युवाहरूको समूह हामी दाजुभाइको आयोजनामा नेपालमा पहिलो पटक आज अन्तर्राष्ट्रिय पुरुष दिवस २०१८ मनाइएको छ । सबै पुरुषहरू हिंसालु र बलात्कारी हुँदैनन्, पुरुषहरूलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन आवश्यक भएको र बालक तथा किशोरमाथि भइरहेको यौन दुर्व्यवहारका समस्या समाजमा लुकी बसेकाले त्यसलाई उजागर गर्नु पर्ने उद्देश्यका साथ पुरुष दिवस मनाइएको कार्यक्रममा संयोजक सन्जोग ठकुरीले बताए ।
पुरुष दिवस महिलाको अधिकारलाई सङ्कुचित पार्नका लागि नभई महिलाको अधिकार हनन नगर्न पुरुषहरूलाई प्रोत्साहित गर्न र बालक तथा किशोरहरूमाथि भइरहेको यौन दुर्व्यवहारको विषयमा थप जागरुकता ल्याउनका निम्ति आयोजना गरिएको संयोजक ठकुरीले बताए ।
एक दिन नारी दिवस र बाली ३६४ दिन पुरुष दिवस भन्नु गलत हुने बताइएको छ । ‘नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस हुन् तर कुनै एक दिन उनीहरूलाई लागि छुट्ट्याउनु भनेको राज्यले उनीहरूको सहभागिता र आवश्यकतालाई सम्बोधन गरेको भनी हामी बुझ्नु पर्ने हुन्छ’ कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व प्रधान न्यायाधीश र UN Men Leads Network का सदस्य कल्याण श्रेष्ठले बताए ।
नेपालमा बालक माथि हुने हिंसा र दुर्व्यवहारको कुनै निश्चित तथ्याङ्क नभए पनि यस्तो अवस्था भने डरलाग्दो छ । खास गरी पछिल्लो समय अमेरिकी, क्यानेडियन, राष्ट्र सङ्घीय निकायकै कर्मचारीहरू पनि बालक माथि यौन दुर्व्यवहारको घटनामा पक्राउ परेपश्चात् यस बारेमा छलफल हुन थाले पनि हुनुपर्ने जति बहस अझै थालनी भइसकेको छैन ।
सन् १९६० को दशकबाट सुरु भएको पुरुष दिवसको आवश्यकताको बहस सन् १९९३–१९९४ मा मिसौरी–कन्सास विश्वविद्यालय अन्तर्गतको मिसौरी पुरुष अध्ययन केन्द्रका निर्देशक थोमस ओस्टरको नेतृत्वमा फ्रेब्रुअरी २३ मा पुरुष दिवस भव्यताका साथ मनाउन सुरु गरिएको थियो । तर त्यस पछाडि यो दिवस मनाउन छाडिएकोमा सन् १९९९ मा ट्रिनिडाड टेंगो स्थिति वेस्ट इन्डिज विश्वविद्यालयका इतिहासका प्राध्यापक डा. जेरोम तेलकसिंले १९ नोभेम्बरलाई अन्तर्राष्ट्रिय पुरुष दिवसको रूपमा मनाउन सुरु गरे र यसलाई विश्वव्यापी पनि बनाए ।

दक्षिण एसियाका भारत र पाकिस्तानमा समेत मनाइने यो दिवस नेपालमा भने यसै वर्ष देखि मनाउन थालिएको छ । विश्वमा चिन, अमेरिका, बेलायत, सिंगापुरु, दक्षिण अफ्रिका, डेनमार्क, नर्वे, अष्ट्रिया, जिम्बाबे, घना, वेस्ट इन्डिज, फ्रान्स, इटाली लगायतका मुलुकमा पनि यो दिवस मनाउँदै आइरहेको छ ।
यस वर्ष संसारभर पोजेटिभ मेल रोल मोडल्स अर्थात् आदर्श पुरुषहरू भन्ने नाराका साथ मनाइरहँदा नेपालमा ३ःभत्यय अन्तर्गत नेपाली बालक र किशोरका दुर्व्यवहार र बलात्कारका विषय पनि उत्थान हुनुपर्ने सोचका साथ “किनकि बालक पनि दुर्व्यवहारमा पर्छन्’’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो । जावलाखेलबाट आज बिहान ८ बजे सुरु भएको पदयात्रा मंगलबजारमा कोणसभामा परिणत भएर समापन भएको थियो ।