काठमाडौं, बैशाख २५ः बिहीबार नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु-८ निवासी १६ र २२ वर्षीय दुईजना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो।
मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवै संक्रमितको अवस्था सामान्य रहेको छ। यससँगै नेपालमा संक्रमितको संख्या १ सय १ जना पुगेकाे छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पुष्टि भएकाे हाे । कपिलवस्तुमा दुई संक्रमित भेटिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ पुगेको छ। कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।
यसअघि बाँकेको नेपालगञ्जमा २३ जना र रुपन्देहीमा एकजना कोरोना संक्रमित भेटिएका थिए।