नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ पक्षसँग प्रधानमन्त्री ओलीको आग्रह

| 2018 Jun 20 | 09:25 am 3585

काठमाडौं, असार ६ : ६ दिने चीन भ्रमणक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चिनियाँ लगानीकर्तासँगको छलफलमा नेपालमा लगानीमैत्री वातावरण बनेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजनीतिक स्थायित्व स्थापित भइसकेकोले हरेक क्षेत्रमा लगानीको अवसर भएकोले लगानी गर्न आग्रह गरेका हुन् । बुधबार बिहान चिनियाँ पक्षसँग प्रधानमन्त्री ओलीले आर्थिक लाभका विषयमा आठ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

चीनबाट पत्रकार ऋषी धमलाले रिपोर्ट नेपाललार्इ दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले २०१८ चाइना बिजनेस फोरमलार्इ सम्बोधन गर्ने क्रममा हाइड्रोपावर, कृषि तथा पर्यटनलार्इ विशेष महत्व दिएका छन् ।

प्रधानमन्त्री ओलीले केही समय अघि नेपालमा राजनीतिक अस्थिरता रहेको भएपनि अब त्यो स्थिति हटि सकेकोले खुलेर हाइड्रोलगायत विभिन्न क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

२४ वर्षदेखि मुलुकमा स्थायी सरकार नभएकोले राजनीतिक अस्थिरताका कारण लगानी असुरक्षित देखिएपनि अब यो स्थायी सरकार भएकोले मन फुकाएर सहयोग गर्न समेत आग्रह गरेका हुन् ।

दोस्रोपटक चीन गएका प्रधानमन्त्री ओलीलार्इ चिनियाँ पक्षले भव्य स्वागत गरेका हुन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग बुधबार शिष्टाचार भेटवार्ता गर्ने भएका छन् । चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको र बेइजिङमा रहँदा प्रम ओली हिल्टन होटलको देउताइ स्टेट गेष्टहाउसमा रहने छन् ।

नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मंलबार प्रधानमन्त्री केपी ओलीले प्राचीन समयमा दक्षिण एसियासँग चीनलाई जोड्ने आर्थिक हब नेपाल भएको बताएका थिए ।

‘प्राचीन सिल्करोडको अंगका रूपमा नेपालले दक्षिण एसिया र चीन जोड्ने भूमिका खेलेको थियो। अब त्यो दुवै देशको हितका लागि ब्युँताउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने। -बेल्ट एन्ड रोडअन्तर्गत चीनसँग विकासमा साझेदार बन्न तयार प्रधानमन्त्री ओलीले अघिल्लो चीन भ्रमणमा पारवहन, सूचना तथा व्यापारमा महत्वपूर्ण सम्झौता गरेको स्मरण गर्दै बेल्ट एन्ड रोडअन्तर्गत चीनसँग विकासमा साझेदार बन्न सहमत भएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.