नेपालमा करीब १० लाख बाथरोगी

रिपोर्ट नेपाल | 2018 Oct 13 | 03:04 pm 1977

काठमाडौं, असोज २७: मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दै छ ।

विश्व बाथरोग दिवशका अवसरमा नर्भिक अस्पतालले गरेको जनचेतनामूलक कार्यक्रममा दिइएको जानकारी अनुसार सबै उमेर समूहका मानिस बाथरोगबाट ग्रसित हुँदै आएका छन् ।

बाथरोग र अस्थिपञ्जर सम्बन्धी रोग झण्डै २०० भन्दा बढी प्रकारका रहेका छन् । बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अङ्ग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्नेआदि समस्या देखा पर्दछ । धूमपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण मानिसमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । बाथरोग सम्बन्धी जनचेतनाको अभिवृद्धि गराउन सो अस्पतालले आज बिहान एक प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो ।

नर्भिक प्राङगणबाट शुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, कमलपोखरी, कालोपूल, जयवागेश्वरी, गौशाला, पुरानो बानेश्वर, बबरमहल हुँदै नर्भिकको प्राङगणमा आएर समापन भएको थियो । कार्यक्रममा बाथरोगीका अलावा सर्वसाधारण, चिकित्सकसहित करीब १५० जनाको सहभागिता थियो ।

विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ मा विश्वभर मनाइन्छ । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक आरपी मैनालीले प्रत्येक तीन नेपालीमध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए।

बाथरोग वा मांशपेशी र अस्थिपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनका लागि कार्यक्रम गरेको नर्भिकका बाथरोग विशेषज्ञ डा अरुणकुमार गुप्ताले बताए।

नेपालमा करीब १० लाख भन्दा बढी जनसङ्ख्या यस रोगबाट पीडित भएको अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.