काठमाडौं, असार ८: डेनमार्कमा जारी नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली जनसम्पर्क समिति डेनमार्कको संयोजन तथा व्यवस्थानमा नेपाली जनसम्पर्क समितिहरुका लागि विश्वस्तरीय प्रशिक्षण कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता जाहेर गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले वर्तमान सरकार निरंकुश बन्दै अगाडि बढीरहेको भन्दै चिन्ता व्यक्त गरे। कम्युनिस्ट सरकार सर्वसत्तावाद बाटो तर्फ उन्मुख भइरहेको छ । राज्यका सम्पूर्ण अंगलाई आफ्नो हातमा लगेर सरकार अधिनायकता तर्फ जान खोजेको प्रस्ट देखिएको र सरकारले शिक्षादेखि प्रेससम्मलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको पनि ब्यक्त गरेका छन् ।
उनले सरकारका गलत कदमविरुद्ध देशविदेशमा रहेका नेपालीले आवाज उठाउनुपर्ने बेला आएको बताए। यदि अहिले चुप लागेर बसे लोकतन्त्रनै खतरामा पर्न सक्ने नेता महरको चिन्ता छ। दुई तिहाइको सरकार आउँदा जनताले विकासको आसा गरेकोमा त्यो निरासामा परिणत भएको नेता महरको टिप्पणी छ।
उनले विदेशमा रहेका नेपालीलाई नेपालमा पनि लगानी गर्न आग्रह गरेका छन्। लगानी मैत्रि वातावरणका लागि कांग्रेस सधै दृढ रहेको बताउँदै महरले विश्वको जुन सुकै कुनामा बसेर पनि नेपालको समृद्धिमा योगदान गर्न सकिने बताए।
कार्यक्रममा नेपालीको राजनीतिक अवस्थादेखि महिला आन्दोलनसम्मका विषय उठान गरिएको थियो।