नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने विश्व बैङ्ककाे प्रक्षेपण

| 2021 Apr 13 | 07:51 am 1669

काठमाडौँ, चैत ३१ः कोरोना महामारीको अवस्था रहे पनि २०७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण विश्व बैङ्कले गरेको छ । महामारीका कारण ४० वर्षपछि २०७७ मा सङ्कुचित नेपाली अर्थतन्त्रमा सुधार देखिने विश्व बैङ्कले औँल्याएको हो ।

विश्व बैङ्कले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा कोरोना महामारीपछि बन्दै गरेको खुकुलो अवस्था र प्राथमिकता प्राप्त जनसङ्ख्यामा खोपको उपलब्धताका कारण यो वृद्धि हुने प्रक्षेपण गरिएको हो । मनसुनी अनुकूलताले कृषि उत्पादनमा सुधार हुने अपेक्षा गरिएको छ ।

कोभिड–१९ पछिको पुनर्लाभलाई तीव्रता दिन र नेपाललाई हरित, उत्थानशील र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात प्रवद्र्धन राम्रो आधार बन्ने प्रतिवेदनमा औँल्याइएको छ ।

प्रतिवेदनमा नेपालको पर्यटन क्षेत्रलाई बजारसँग समाञ्जस्य हुनेगरी परिमार्जन गर्न आवश्यक रहेको जनाइएको छ । आयात र विप्रेषणमा सामान्य सुधार हुने र निर्यात यथास्थितिमा रहनसक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८÷७९ मा चालू खाता घाटा कम हुँदा कुल गार्हस्थ्य उत्पादनको १.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

राजस्व सङ्कलन लक्ष्यअनुसार हुनसक्ने सम्भावना न्यून भएको र आर्थिक राहतका उपाय, खोप कार्यक्रम र आयोजना पुनः सञ्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चका कारण आगामी आवमा वित्तीय घाटा भने बढ्ने जनाइएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.