नेतृत्वले गरेको गल्तीको सजाय देशले पाउँदैछ

रिपोर्ट नेपाल | 2023 Aug 28 | 02:27 pm 2573

नेपालका राजनीतिक दलका नेताहरुमध्ये राजाबाट पीडित बनाइएका वीपी कोइराला र कृष्णप्रसाद भट्टराई हुन । उनीहरुलाई तत्कालिन राजा महेन्द्रले वर्षाैसम्म जेल मात्र हालेनन कि प्रधानमन्त्री र सभामुख जस्तो पद नै वर्खास्ती गरिदिएका थिए । त्यसरी जेल हाल्ने र सर्वोत्कृष्ट पद नै वर्खास्त गरिदिने राजा विरुद्ध जति लाग्नुपर्ने थियो त्यसो नगरेर राजसंस्था विरुद्ध कहिल्यै लागेनन् । वीपी कोरारालाले त आफ्नो जीवनको अन्तिम घडीसम्म ठूला मुलुकले घेरीएको सानाे देश नेपाल जोगाउनका लागि राजसंस्थाको विकल्प नहुने भन्दै व्याख्या गरिरहे । वीपी कोइरालाको जीवनकालभर नेपाली कांग्रेस राजसंस्थाको बारेमा अविचलित रहयो । वीपी पछि सन्त नेता कृष्णप्रसाद भट्टराई पनि त्यो कुरामा अडिग रहेका हुन् ।

नेपालमा बहुदलीय व्यवस्थाको स्थापनार्थ सर्वमान्य नेता गणेशमान  सिंहको कमाण्डमा भएको ऐतिहासिक जनआन्दोलनका समयमा भारतले नाकाबन्दी लगाएको थियो । भारतले नाकाबन्दीको माध्यमबाट राजा फाल्ने कोशिस गर्दा सन्त नेता कृष्णप्रसाद भट्टराईको चातुर्यता र सुझबुझका कारण भारत असफल भएको थियो । भट्टराईले त्यो गरे बापत शक्ति विहिन बनाइएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । भट्टराई पछि नेपाली कांग्रेसको सभापति बनेका गिरिजाप्रसाद कोइरालाको कार्यकालमा नेपाली कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित मात्र भएन की धमिलो पानीमा माछा मार्न खोज्ने देशी विदेशी शक्तिलाई खेल्नका लागि मार्ग प्रशस्त गरिदिने काम भयो । जुन दिन कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित भयो त्यहि दिन सन्त नेता भट्टराईले कांग्रेस पार्टी कार्यालय पुगेर कांग्रेस छाडेका थिए । कांग्रेसको विभाजन पछि माैन बसेका भट्टराई केहि दिन अगाडी कांग्रेसमा फर्किएर कांग्रेसले गलत बाटो रोजेको भन्दै आफूले हुर्काएको र बढाएको पार्टी छोडेका थिए ।

संसारका थुप्रै देशको इतिहास हेर्ने हो भने पहिला राजसंस्था फालिएको छ । सिक्किम लगायत विश्वका जति पनि देशले आफ्नो सार्वभाैमिकता गुमाएका छन  वा गृहयुद्धमा प्रवेश गरेका छन ती देशमा राजसंस्था फालेपछि मात्र भएका छन् । राजसंस्था फालेपछि सके त्यो देशको सार्वभाैमिकता समाप्त पारिएको छ नसके गृहयुद्ध चर्काएर हतियारको खेती गरिएको छ । नेपाल पनि त्यही दिशामा जान सक्ने कुराको आकलन गर्दै दुरदर्शी राजनेता वीपी कोइरालाले पटक पटक राजा महेन्द्रलाई सम्झाएको इतिहास जिवित छ । वीपी कोइरालाले पटक पटक सम्झाउदा राजा महेन्द्रसँग पर्याप्त सुझबुझ हुँदाहुँदै पनि राजा महेन्द्र त्यो षड्यन्त्रको शिकार भए । राष्ट्रियता बचाउने सवालमा राजा महेन्द्रको योगदान रहेको छ तर प्रजातन्त्र समाप्त पार्ने जुन कार्य गरियो त्यो मुलुककै लागि आत्मघाती भयो ।

दरवारमा विदेशीको कति ठूलो घुसपैठ रहेछ भन्ने ज्वलन्त उदाहरण डा‍. तुल्सी गिरी हुन् । डा. गिरी प्रधानमन्त्री भएका समयमा नेपालका संस्कृत गुरुकुलहरुको शैक्षिक योग्यता प्रमाणपत्र मान्य नहुने कानून ल्याएका थिए । नयाँ मठ मन्दिर गुम्बा निर्माणका लागि गिरीकै प्रधानमन्त्रीत्वकालमा रकम नदिने कानून आएको थियो । त्यो कानून आउनुका पछाडी गिरी इसाइका एजेण्ट भनेर चिनिन्थे । राजाले प्रजातन्त्र समाप्ती पारेका  कारण जेल नेल दु:ख कष्ट सहेका नेताहरु गणतन्त्रको पक्षमा लाग्नु त्यति अस्वभाविक नभए पनि दरवारले पटक पटक प्रधानमन्त्री मन्त्री बनाएका लोकेन्द्र बहादुर चन्द, प्रकाशचन्द्र लोहनी लगायतका पूर्व पञ्चहरुले किन गणतन्त्रको पक्षमा मतदान गरे भन्दा देशी विदेशीको कति षडयन्त्र रहेछ भन्ने प्रष्ट हुन्छ ।

२०६५ जेठ १५ गते स‌ंसदमा गणतन्त्रको पक्षमा मतदान गरेका पूर्व पञ्चहरुको केहि समयमा गल्ति स्वीकार गरेका थिए । गणतन्त्रको घोषणा हुने दिन संविधानसभाको अध्यक्ष बनेर प्रस्ताव पेश गर्ने नेपाली कांग्रेसका नेता केवी गुरुङले पनि गल्ति स्वीकार गरे । १२ बुँदे सम्झाैताको हस्ताक्षरकर्ता भनेर गर्व गर्ने तत्कालिन प्रजातान्त्रिक कांग्रेसका कार्यवाहक सभापति गोपालमान श्रेष्ठले पनि केहि महिनामै संघियता, गणतन्त्र र धर्म निरपेक्षता गल्ति थियो भन्दै स्वीकार गरी सकेका छन् । विश्वको एक मात्र हिन्दु राष्ट्रलाई समाप्त पार्ने षडयन्त्र त्यसै गरिएको हाेइन त्याे अन्तराष्ट्रिय षडयन्त्रबाट भएको भन्ने कुरा विस्तारै प्रमाणित हुँदैछ । आफ्नो देशको धर्म, संस्कृती परम्परा विश्वकै जेठो भएको जान्दा जान्दै त्यसलाई समाप्त पार्न नेतृत्ववर्ग जसरी डलरमा विक्री भए आज आफू मात्रै होइन देश नै समाप्त हुने दिशातर्फ अघि बढेको छ ।

२०१७ साल पुष १ गते राजा महेन्द्रले चालेको कदम बाहेक अरु सबै कुराको नेतृत्वले मार्ग दर्शक सिद्धान्तका रुपमा लिनुपर्छ । राजा महेन्द्रको १४ अञ्चल  ७५ जिल्ला पाँच विकास क्षेत्र मुलुक सुहाउँदो थियो । अझै पनि नेतृत्वको घैटामा घाम लाग्ने हो भने जहाज डुबेको छैन पहाड अझै खसेको छैन । आफूले विगतमा गरेको गल्तिलाई स्वीकार गर्दै यथासक्य छिटो गणतन्त्र संघियता र धर्म निरपेक्षता तत्काल अन्त्य गर्न जरुरी छ । यो गर्ने साहस नेतृत्वले गरे भने पछिल्लो समय नेतृत्वप्रति बढेको वितृष्णा अन्त्य होला अन्यथा मुलुक गलत दिशातर्फ अघि बढ्ने निश्चितप्राय: छ ।

धर्म निरपेक्षताले देश अराजकतातर्फ गएको संकेत केहि दिन देखि देखिन थालेको छ । पशुपतिनाथ मन्दिरका पुजारीले गल्ती गरे भने पुजारी फेर्न सकिन्छ तर मन्दिर नै ढाल्न सकिन्न नी । जुन दिन हामीले संस्था ढाल्याै मुलुक अभिभावक विहिन भयो अराजकता दिन प्रतिदिन बढ्दै गएको छ । संसारमा धेरै उदाहरण छन फालिएको संस्था स्थापित भएको त्यसैले देश बचाउने हो भने नेतृत्वले गम्भिर भएर सोच्न जरुरी छ । समयमा नचेते भिरमा गएको गाईलाई राम राम भन्न सकिएला काँध थाप्न सकिदैन् ।

चेतना भया !

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.