नेता नेपाल र नारायणकाजीको चाहानाविपरित निर्णय, वामदेवको सपनामा पूर्णविराम

| 2018 Oct 22 | 06:59 pm 1603

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको सोमबारको सचिवालय बैठकले पार्टी वरिष्ठ नेता माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको चाहनाविपरित निर्णय गरेको छ। माधव नेपालले यसअघिका निर्णय उल्ट्याउनुपर्ने माग राखेका थिए भने नारायणकाजीले दिएको राजिनामा स्वीकार गरिनुपर्ने बताएका थिए। तर, यस विपरित तीनवटा निर्णय भएका छन्।

आइतबारबाट सुरु भएको बैठक सोमबार तीनवटा निर्णय गर्दै सकिएको नेकपा नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बैठकमा यसअघि श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजिनामा अस्वीकृत गरेको छ। त्यसैगरी पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले यसअघि राखेको लिखित असहमतिपत्रमाथि छलफल गर्दै यसअघिका निर्णयहरुलार्इ नै निरन्तरता दिने निर्णय गरेको हो। त्यस्तै बैठकका अन्य एजेन्डामा छलफल गर्न आगामी ७ कार्तिकमा पुन बैठक बस्ने निर्णय गरेको हो।

यसअघि वरिष्ठ नेता नेपालले प्रदेश इन्चार्ज-सहइन्चार्ज र अध्यक्ष-सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति नै दर्ता गरेका थिए।

नेपालको असहमतिपत्रबारे गम्भीर छलफलगरी आगामी दिनमा त्यस्तो गम्भीर त्रुटी नगर्ने, यी कुरा नदोहोर्‍याउने सहमतिमा पहिलेकै निर्णय कार्यान्वयन गर्ने जनाएको हो।

आइतबार बसेको बैठकले पार्टीका नेता बामदेव गौतमको सांसद बन्ने सपनामा पूर्णविराम लगाएको थियो। बैठकले काठमाडौं-७ का रामवीर मानन्धरले पेस गरेको संघीय सांसद पदको राजिनामा प्रस्ताव अस्वीकार गर्दै बामदेवको सांसद सपनामा पूर्णविराम लगाएको थियो।

यसअघि असोज २४ र २७ मा बस्ने भनिएको बैठक पार्टीको आन्तरिक विवाद र नेपालीको महान चाड दशैं भएकोले ४ कार्तिकमा शुरु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.