नेकपा, राजपा र फोरम सम्पत्ति विवरण संकलन गर्दै, सार्वजनिक गर्ने तयारीमा कांग्रेस

रिपोर्ट नेपाल | 2018 Sep 10 | 08:11 am 1857

काठमाडौं, भदौ २५: प्रमुख चार राजनीतिक दल सम्पत्ति विवरण संकलन गर्न तातेका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार ती दल सम्पत्ति विवरण संकलनमा जुटेका हुन् ।

राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले आफ्ना केन्द्रीय पदाधिकारी र सदस्यलाई सम्पति विवरण बुझाउन निर्देशन दिएका हुन् ।

ऐनअनुसार सबै राजनीतिक दलमा रहेका केन्द्रीय पदाधिकारी एवं सदस्यले आफ्नो चलअचल सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५३ को उपदफा १ मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चलअचल सम्पतिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयसमक्ष पेस गर्नुपर्नेछ।

यसैगरी, दफा ५३ को उपदफा २ मा उपदफा १ बमोजिमको विवरण प्राप्त भएपछि त्यस्तो कार्यालयले अभिलेख राखी सम्पत्ति विवरण पेस गर्ने र नगर्ने पदाधिकारी, केन्द्रीय सदस्यको नाम विवरण पेस गर्नुपर्ने अवधि नाघेको एक महिनाभित्र प्रकाशन गर्ने उल्लेख छ।

तर राजनीतिक दलसम्बन्धी ऐनबमोजिमका काम कुनै पनि दलका नेताले गरेका छैनन्। चारै राजनीतिक दलले पार्टीको केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको सम्पत्ति विवरण संकलन गरिरहेको जनाएका छन्।

निर्वाचन आयोगले ऐनको दफा ५४ को उपदफा ७ मा सम्पत्ति विवरण पेस नगरेमा प्रत्येक व्यक्तिलाई १० हजार जरिमाना गर्न सक्ने व्यवस्था छ। आयोगले राजनीतिक दललाई पत्राचार गरी नियम पालना गर्न ताकेता गरेको छ ।
आयोगका सहसचिव घनश्याम ओझाले १२५ राजनीतिक दललाई नै नियमानुसार आयोगलाई विवरणबारे जानकारी दिन पत्राचार गरिएको बताए।

आयोगले ताकेता गरेपछि राजनीतिक दलहरू विवरण संकलन गर्न तातेका हुन् । सबै पदाधिकारी एवं सदस्यको सम्पत्ति विवरण संकलन गरेर सार्वजनिक गर्ने उनीहरूले जनाएका छन्।

ने क पा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टीका पदाधिकारी एवं सदस्यलाई आफ्नो चलअचल सम्पत्तिसहितको विवरण पार्टीमा बुझाउन निर्देशन दिइसकेको बताए। निर्देशनअनुसार नेताहरूले विवरण बुझाउने क्रम जारी रहेको उनले बताए । ‘विवरण प्राप्त हुने बित्तिकै सार्वजनिक हुन्छ,’ नेता श्रेष्ठले भने।

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले निर्वाचन आयोगको पत्र आएपछि एक महिनाअघि नै पार्टीका पदाधिकारी र सदस्यहरूको विवरण संकलन भइसकेको उनले बताए।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सम्पत्ति विवरण सार्वजनिक गर्ने कि नगर्ने भन्नेमा आफूहरू अन्योलमा रहे पनि सार्वजनिक गर्ने बताए । विभिन्न ६ पार्टी मिलेर राजपा नेपाल निर्माण भएको बताउँदै सो ऐनमा भएको व्यवस्था आफूहरूमा लागू हुने कि नहुने भन्ने अन्योल रहेको उनको भनाइ थियो

यद्यपि आयोगको पत्र प्राप्त भएपछि सोअनुसार पार्टीले विवरण बुझाउन निर्देशन दिएको बताए । पदाधिकारी एवं सदस्यहरूको विवरण प्राप्त भएपछि पार्टीले सार्वजनिक गर्ने नेता यादवले बताए । पार्टीको तर्फबाट केन्द्रीय कमिटीका सबै नेतालाई छिटै नै विवरण बुझाउन निर्देशन दिएको बताउँदै उनले छिटै नै सार्वजनिक गर्ने बताए ।

फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टी केन्द्रीय कमिटीका नेतालाई आफ्नो चलअचल सम्पत्तिसहितको विवरण बुझाउन निर्देशन दिएको बताए । कतिपय नेताले बुझाइसकेको भए पनि सबैको आउन बाँकी रहेको उनले बताए।

तर पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहेका सदस्यले निर्वाचन भएको दुई महिनाभित्र आफ्नो चलअचल सम्पत्ति पार्टी मुख्यालयमा बुझाउनुपर्ने निर्वाचन आयोगको कानुन उल्लंघन गरेबापतको जरिमाना तिर्नुपर्ने भएको छ।

ऐन उल्लंघन गरेबापत राज्यलाई १ करोड ५५ लाख ५० हजार जरिमाना तिर्नुपर्ने देखिएको छ । राजपाले ८१ लाख ५० हजार, ने क पाले ४४ लाख १० हजार, फोरम नेपालले २४ लाख ५० हजार र कांग्रेसले ८ लाख ५० हजार जरिमाना राज्यलाई तिर्नुपर्ने हुन्छ।

राजपा नेपाल ८१५, ने क पाका ४४१, फोरमका २४५ र कांग्रेसका ८८ जनाको केन्द्रीय समिति रहेको छ । प्रतिव्यक्ति १० हजारका दरले यी सबै केन्द्रीय पदाधिकारी र सदस्यले जरिमाना तिर्नुपर्ने हुन्छ।

गत ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई ने क पा बनेको थियो । स्रोतका अनुसार ने क पाका ३० नेताले मात्र सम्पत्ति विवरण बुझाएका छन्।

महाधिवेशन भएको अढाई वर्ष बितेपछि कांग्रेसका नेताले सम्पत्ति विवरण बुझाएका छन्। तर पार्टीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

७ वैशाख २०७४ मा विभिन्न ६ वटा पार्टी मिलेर बनेको राजपा नेपालका कुनै पनि नेताले अहिलेसम्म पार्टीमा विवरण नबुझाएका कारण सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । उपाध्यक्ष सत्यनारायण मण्डलले निर्वाचन आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन पत्राचार गरेको पुष्टि गरे । तर, नेताहरूको विवरण पार्टीमा आइनसकेकाले सार्वजनिक नगरिएको बताए ।

२ जेठ २०७२ मा संघीय समाजवादीसहितका दल र मधेसी जनाधिकार फोरम नेपालबीच एकीकरण भई बनेको संघीय समाजवादी फोरम नेपालका पदाधिकारी र सदस्यले पार्टीमा सम्पत्ति विवरण बुझाएका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.