नेकपा निकट दुई विद्यार्थी समूहबीच झडप, केही विद्यार्थी घाइते

रिपोर्ट नेपाल | 2020 Feb 17 | 02:37 pm 1699

चितवन, फागुन ५: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका विद्यार्थीको दुई पक्षबीच झडप भएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा पूर्वएमाले निकट अनेरास्ववियु र पूर्वमाओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबीच  झडप भएको छ ।

सोमबार पूर्वमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकलाई टाउकोमा रडले हानेर घाइते बनाएका छन् ।

उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनीसँगै आएका जिल्ला नेता सचित सुवेदी पनि सामान्य घाइते छन् ।

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रमा एकता भए पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा भने एकता अझै भइसकेको छैन । नेकपाको जिल्ला नेतृत्वले विवाद मिलाउने प्रयास गरे पनि सहमति हुन नसक्दा घटनाले उग्ररुप लिन थालेको जनाइएको छ ।

रामपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जुनसुकै बेला पनि घटना हुने सक्ने देखिएकोले सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

रामपुरको घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीहरुले नेकपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् । क्रान्तिकारीका विद्यार्थीहरुले केन्द्रीय सदस्य देव पाठकबाट रड प्रहार गरी घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन् ।

पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्ष विद्यार्थीहरुले तोडेका छन् । पार्टी कार्यालयमा सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

नेकपा चितवनका कार्यालय सदस्य आरसी अधिकारीले विवाद समाधानका लागि पार्टीले पहल गरिरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.