काठमाडौं, कात्तिक १२ः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक निर्धारित मितिमा बस्ने/नबस्ने अनिश्चित भएको छ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले महाधिवेशनको तयारीस्वरुप कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने समय निर्धारण गरेको थियो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले तयारीको स्थिति हेर्दा केन्द्रीय समिति बैठबारे यसै भन्न नसक्ने प्रतिक्रिया दिए । बैठक स्थगित भैसकेको जानकारीमा छैन, तर तयारीको स्थिति हेर्दा केन्द्रीय समिति बैठकको बारेमा यसै हुन्छ भन्न त सकिएन, प्रवक्ता श्रेष्ठको भनाइ छ ।
निर्धारित समय आउन ३ दिनमात्रै बाँकी रहँदा बैठक बस्ने या सर्ने भन्ने अनिश्चितता बढेको हो ।
स्थायी समिति बैठकले असोज महिनाभित्र पार्टी एकतका बाँकी काम सक्ने, मंसिर भित्र सदस्यता नवीकरण लगायतका काम सक्ने भनेपनि निर्णयअनुसार कामहरु हुन सकेका छैनन् ।