काठमाडौँ ,जेठ २४: नेकपा नेतृत्वको सरकारमा सहभागी रहेको संघीय समाजवादी फोरम नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेको छ । बिहिवार पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ती जारी गरी उक्त कुरा प्रष्ट पारेका हुन् ।
सामाजिक सञ्जालहरुमा फोरम र नेकपाबीच पार्टी एकीकरण हुन लागेको समाचारहरु सार्वजनिक भए पनि फोरम अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विज्ञप्ती जारी गर्दै तत्काल एकता सम्भव नभएको बताएका हुन्।
वैशाख २१ गते बसेको फोरमको केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल/पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो। तर, यसबीच फोरम र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको यादवको भनाइ छ।
भ्रम सिर्जना हुनेगरी प्रचार गरीएको समाचार प्रति असन्तुष्टि जनाउँदै अध्यक्ष यादवले प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको उल्लेख गरेका छन्।