काठमाडौँ, फागुन २१ : नेपाल कम्युनिस्टका नेता तथा पूर्वसांसद गणेश पण्डितको मंलवार निधन भएको छ । पण्डितको हृदयघातबाट निधन भएको हो ।
उनी आइतवारमात्रै काठमाडौँबाट भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर आफ्नो घर नुवाकोट फर्किएका थिए । घर पुगेर कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको पारिवारिक सदस्यले जानकारी दिएका छन् ।
७२ वर्षीय पण्डितको उपचारका लागि काठमाडौँ ल्याउने क्रममा बाटोमै निधन भएको हो । पण्डितले २०४८ सालको निर्वाचनमा नुवाकोटबाट काँग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए ।
नेकपाले एक साताभित्र चारजना नेता लगातार गुमाएको छ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वली पछि पूर्वसांसद पण्डितलाई नेकपाले गुमाएको हो ।