काठमाडौँ, कात्तिक ४ : पटक पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आज आइतबारको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
असोज २२ को सचिवालय बैठकले असोज २४ का लागि तोकेको बैठक पटक पटक सरेकोमा आइतबार र सोमबारका लागि तय गरिएको छ । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, कात्तिक १२–१३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने जनाइए पनि तीन महीना पूरा भएको दुई महीना बितीसकेको छ ।
प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिक रुपमा व्यक्त गरेको असन्तुष्टि, मन्त्रीहरुको कार्यप्रगति, नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट संसद्मा ल्याउनेसम्बन्धी प्रस्तावलगायत विषयमा नेकपाभित्र विवाद पैदा हुँदै आएको छ । बैठकले ती विवादका विषयमा निर्क्यौल गर्ने बुझिएको छ ।