काठमाडौँ, असार २: संविधान संसोधनको विरोधी देखिएको पुर्व एमाले र संसोधनको पक्षधर पुर्व नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो राजनीतिक दस्तावेजमै संविधान संशोधनको विषयलाई विशेष प्राथमिकताका साथ राखेका छन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा उठिरहँदा बाहिरीएको यस्तो खबरले नेपाली राजनीति तरंगित भएको छ । संविधान संसोधनका लागि संघीय समाजवादी फोरमलार्इ सरकारमा ल्याउनु सत्ताधारी दलले नै उपराष्ट्रपतिको प्रसंग उठाउनु र प्राथमिकतामा संविधान संसोधन पर्नुजस्ता श्रृखलाबद्ध घटनाले राजनीति तरंगित भएको हो ।
नेकपाले संविधान गतिशील भएको तर्क गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौमसत्ताबाहेक अरू विषय संशोधन गर्न सकिने बताएको छ। पार्टी एकीकरणपछि तयार भएको यो पहिलो राजनीतिक दस्तावेज हो।
करिब दुई तिहाइ बहुमतको सरकार बनेपछि पहिलो पटक तयार गरिएको दस्तावेजमा संविधान संशोधनलाई प्राथमिकतामा राखिएको छ । ‘नयाँ संविधान गतिशील संविधान हो । नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौमसत्ताबाहेक कुनै पनि कुरा असंशोधनीय वा अपरिवर्तनीय छैन,’ दस्तावेजमा भनिएको छ, ‘एकातिर उपर्युक्त मूलभूत विषय एकदमै सुरक्षित भएका छन् भने ती विषयबाहेक नेपाली जनताले चाहेमा सबै विषय संवैधानिक बाटोबाट परिवर्तन गर्न सकिन्छ भन्ने संविधानत: स्थापित भएको छ।’
नेकपाले पुँजीवादी जनवादी क्रान्तिको धेरै काम पूरा भएकाले बाँकी कार्यक्रम पूरा गर्न संविधान संशोधनको आवश्यकता पर्ने उल्लेख छ।
‘नेपाली पुँजीवादी जनवादी क्रान्तिका केही कार्यक्रम बाँकी रहेकाले त्यसलाई पूरा गर्न संविधान संशोधन एवं परिमार्जन गर्दै जानुपर्ने आवश्यकता पर्न सक्छ,’ दस्तावेजले भनेको छ, ‘हामीले हाम्रो लोकतन्त्रलाई यसको सारतत्त्व एवं विशिष्टतासहित लागू गर्ने क्रममा अझै विकास गर्ने दिशामा ध्यान दिनुपर्छ र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकताअनुसार यसमा संशोधन एवं विकास गर्दै अघि बढ्नुपर्छ।’ दस्तावेजको पृष्ठ १२ मा संविधान संशोधन गरी अझै शक्तिशाली कम्युनिस्ट शक्ति बन्ने दाबी गरिएको छ।
‘आवश्यकताअनुसार संविधान संशोधन गरी परिवर्तन गर्न सकिने अवस्था छ। सच्चा समाजवादको प्रतिनिधित्व गर्ने क्रान्तिकारी कम्युनिस्ट शक्ति सुदृढ एवं शक्तिशाली छ तथा यो अझै सुदृढ हुँदै जानेछ’ भनिएको छ।