नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकको सम्पूर्ण तयारी पूरा

| 2020 Jan 29 | 07:49 am 1500

काठमाडौं, माघ १५: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको सम्पूर्ण तयारी पूरा भएको छ। बुधबारदेखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवदीबीच पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो।

नेकपाको गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो। पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एकपटक बस्ने व्यवस्था भए पनि डेढ वर्षमा पहिलो पटक बस्न लागेको हो। विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ।

प्रचार विभाग उपप्रमुख थापाका अनुसार बुधबारदेखि सञ्चालन हुने बैठकको एजेण्डा तय गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको छ। केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

यसैगरी विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन्। यसअघि पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रियसभाको निर्वाचन कारण सारिएको थियो।

एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो। पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो। त्यसयता बैठक हुनसकेको छैन।

बैठक यही माघ २० गतेसम्म चल्ने छ। बैठकमा केन्द्रीय सदस्यलाई परिचयपत्रसमेत वितरण गरिने नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वर रिजालले जानकारी दिए।

महाधिवेशनपछिको कार्यकारी कमिटी केन्द्रीय कमिटीलाई लिने गरिन्छ। पार्टीको नीति, सिद्धान्त र योजना केन्द्रीय कमिटी बैठकले नै बनाउने गर्छ। केन्द्रीय कमिटी आगामी एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि पार्टीको सर्वोच्च संस्था हुनेछ भनेर विधानमा उल्लेख गरिएको छ।

बैठकमा सहभागी हुन विभिन्न जिल्लाबाट केन्द्रीय सदस्य काठमाडौं आइसकेका छन्। दुई पार्टी एकीकरण भएपछि ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ।

पार्टीभित्र बैठक, भेला र सांठनिक गतिविधि बढाउन व्यापक माग बढेका बेला बैठकले सचिवालय बैठक र स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.