नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडाबाट समान्तर रुपमा चल्ने

रिपोर्ट नेपाल | 2018 Jun 01 | 12:50 am 1692

काठमाडौं, जेठ १८: नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालयहरु नेकपा एमालेको पूर्ववत केन्द्रीय कार्यालय धुम्बाराही र नेकपा माओवादी क‍ेन्द्रको पूर्ववत केन्द्रीय कार्यालय पेरिसडाँडाबाट समानन्तर रुपमा चल्ने भएका छन् ।

दुवै कार्यालयमा अध्यक्षद्वय केपी ओली र प्रचण्डको कार्यकक्ष व्यवस्थापन गरिएको छ । नेकपा सचिवालय बैठकले पेरिडाँडामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यालय रहने टुंगो लगाएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए। धुम्बाराहीमा अध्यक्षद्वयसहित सचिवालयका ९ सदस्यहरूको कार्यकक्ष व्यवस्थापन गरिने निर्णय भएको उनले बताए। सचिवालय सदस्यका लागि फरक–फरक कोठामा कार्यकक्ष तयार गरिने नयाँ पत्रिका दैनिकमा उल्लेख छ ।

कार्यालय व्यवस्थापनका लागि ४ सदस्यीय कमिटी गठन गरिएको नेता श्रेष्ठले बताए। कमिटीमा विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ, प्रह्लाद बुढाथोकी र श्रीराम ढकाल छन्। ‘अहिले धुम्बाराही र पेरिडाँडामा पार्टी कार्यालयको मात्र नाम फेरिएका छन्,’ श्रेष्ठले भने, ‘पुराना स्वरूपका दुवै पार्टी कार्यालयका कार्यकक्ष भत्काएर नयाँ स्वरूपमा बनाउँछौँ।’ शुक्रबार महासचिव विष्णु पौडेल पेरिसडाँडा पुगेर कार्यकक्षमा बस्ने तयारी रहेको श्रेष्ठले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.