नेकपाकै नेता प्रचण्ड र वामदेवले भने, ‘डा केसीको माग जायज छ’

रिपोर्ट नेपाल | 2018 Jul 20 | 11:50 am 1989

काठमाडौं, साउन ४: प्रधानमन्त्री केपी शर्मा ओलीकै आदेशमा जुम्लामा २० दिनदेखि अनशनरत डा गोविन्द केसीलार्इ बिहीबार बलपूर्वक काठमाडौं ल्याइएको दोस्रो दिन नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमले डा केसीका माग जायज भएको बताएका छन्।

नेकपा नेतृत्वको सरकारले डा. केसीका माग सम्बोधनमा बेवास्ता गरिरहेका बेला सोही दलका शीर्ष स्तरका नेताले शुक्रबार माग जायज भएको प्रतिक्रिया दिएका हुन्।

चिकित्सा शिक्षासम्बन्धी केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनअनुसार पूर्ववर्ती सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश निष्क्रिय पारेर नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नयाँ विधेयक ल्याएपछि डा. केसी २० दिनदेखि अनशनमा छन्। जुम्लास्थित कर्णाली स्वास्थ्य प्रतिष्ठानमा अनशनमा बसेका केसीलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले डा केसीका माग जायज भएको बताए। ‘डा. केसीले उठाएका माग जायज छन् तर यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ,’ दाहाललाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विष्णु सापकोटाले भने।

माग जायज भए पनि मुलुकमा संसद् भएकाले त्यहाँबाट टुंग्याउनुपर्ने विषयलाई चुनौती दिन भने नहुने दाहालको भनाइ छ। ‘उहाँ (डा. केसी) का जायज मागलाई वैधानिक निकायले वैधानिक तरिकाले सम्बोधन गर्छ। माग जायज हुँदाहुँदै पनि व्यक्तिले वैधानिक निकायलाई चुनौती दिनु गलत हो,’ दाहाललाई उद्धृत गर्दै सापकोटाले भने।

नेकपाका प्रभावशाली नेता तथा सचिवालय सदस्य वामदेव गौतमले पनि डा. केसीले उठाएका माग जायज भएको बताएका छन्। गौतमले डा. केसीका मागलाई राष्ट्रियस्तरबाट हेर्नुपर्ने बताए। ‘यो कहाँ–कहाँ मेडिकल कलेज खोल्ने भन्‍ने विषय नै होइन । हामीले पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रुपमा सरकारीकरण गर्ने लक्ष्य राखेका छौं ।

शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा निजीकरणलाई पूर्ण रुपमा अन्त्य गछौँ,’ गौतमले नागरिकसँग भने । उनले अब खोल्ने मेडिकल कलेज सरकारले मात्र खोल्न सक्ने बताए। कतिपय ठाउँमा विदेशी विद्यार्थीसमेत अध्ययनका लागि आउने भएकाले सरकारले खासखास ठाउँमा मेडिकल कलेज सञ्चालनको अनुमति दिने गौतमको भनाइ थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.